यातायात क्षेत्रको विकृति अन्त्य आवश्यकः मन्त्री दाहाल

साझाकुरा
२०७८ फाल्गुन २०, शुक्रबार ११:४७

हेटौंडा-बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायातको क्षेत्रमा सुधार गर्न सबै प्रकारको विकृतिको अन्त्य आवश्यक रहेको बताएका छन् । बिहीबार हेटौंडामा भएको सार्वजानिक यातायातको क्षेत्रमा गरिनुपर्ने सुधार विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यातायात क्षेत्रमा फैलिएको विकृतिको अन्त्य गरी सो क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताएका हुन् । यातायात व्यवसायीहरुको साथबिना कुनै काम गर्न नसक्ने भन्दै उनले यातायात व्यवसायी प्रस्तुत गरेको कार्यपत्रको विषयमा थप छलफल गरेरमात्रै कार्यान्वयनतर्फ आफू जाने बताए । मन्त्रालयले उपत्यकामा सार्वजानिक सवारी साधनमा क्यास लेसको लागि कार्यविधि तयार पारेको उनको भनाइ छ ।

मन्त्री दाहालले प्रदेशमा रहेका १० वटै यातायात व्यवस्था कार्यालयमा रहेका ढट्टालाई व्यवस्थित गरी डिजिटल प्रणालीमा लैजानेसमेत बताए । २० वर्ष माथिका ट्याक्सी हटाई विद्युतीय ट्याक्सी सञ्चालन गर्न साना चार्जिङ स्टेशन निर्माण गरिने उनले जिकिर गरे ।कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनीका प्रवन्धक निर्देशक सरोज कुमार खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले सडक दुर्घटनामा राजनीतिकरण हुने, कमजोर बीमा व्यवस्थापन, सडक दुर्घटना र असीमित जोखिम, दुर्घटनाको जटिलता र कानुनको पालना, बीमा र सवारी कानुन, पञ्जीकरणको समस्या र दोहोरो पञ्जीकरणको प्रावधान खारेजको माग गरेका छन् । खनालले सवारी नम्बरमा प्रादेशीकरण, साधनको सरुवा सहमति दर्ता, चालक सहचालक उत्पादनका लागि तालिमकेन्द्र र अनुमतिपत्रको वर्गिकरण, विद्युतीय सवारी साधानको प्रयोग, बसपार्क तथा हाइवे भेहिकल पार्क, तौलपुलको अनिवार्यता हुनपर्ने माग गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदी, यातायात मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्मा, बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक युवराज राउत, प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक सुशीलसिं राठौंर, मकवानपुर प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङ, हेटौंडा उपमहानगर उपमेयर मिना कुमारी लामा, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, संघ पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाईलगायत उपस्थित थिए । कार्यक्रम कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*