मौलाउँदै अफिम खेती
हेटौंडा- नेपालमा गाँजालाई वैद्यानिकता दिने चर्चा चलेको लामो समयपछि ऐन कानुन बनाउने तयारी भइरहेको छ ।गाँजालाई औषधी प्रयोजनको रुपमा वैद्यानिकता दिन आवश्यक ऐन बनाउने सरकारले तयारी गरेको हो । गाँजालाई वैद्यानिकता दिने प्रयास भइरहँदा नेपालमा सबैभन्दा धेरै गाँजा उत्पादन हुनेमध्येमा पहिलो रहेको मकवानपुरमा भने पछिल्लो समय अफिम खेती मौलाउन थालेको छ ।विशेषगरी जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समय अफिम खेती मौलाउन थालेको हो । २-३ वर्षअघिदेखि सुरु भएको अफिम खेतीले गाँजालाई बिस्थापित गर्ने अवस्थामा पुगिसकेको छ । अफिमको मूल्य महँगो र ढुवानी गर्न पनि सहज र सरल हुने भएकाले लागूऔषध तस्करको उक्साहटमा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका अधिकांश भागमा अफिम खेती मौलाएको हो ।
गाँजा खेती नष्ट गर्न गएका प्रहरी टोली अफिम खेती देखेर अचम्ममा परेको बताइएको छ । लागूऔषध ब्युरो काठमाडौं, बागमती प्रदेश दंगा नियन्त्रण हेटौंडा र जिल्ला प्रहरी कार्यालय हेटौंडाको संयुक्त प्रहरी टोली दुई साताअघि राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजा खेती नष्ट गर्न गएका थिए । तर, सोचेअनुसार गाँजा खेती नभेटिएको प्रहरीको भनाइ छ ।कृषकहरूले गाँजा पाकेर भित्रयाइसकेका छन् । अधिकांशले बिक्री पनि गरिसकेका छन् । तर, अफिम भर्खरै फुल्दैछ । राक्सिराङ गाउँपालिकाको साविकको खैराङ, राक्सिराङ र सरिखेत पलाँसे गाविसका अधिकांश भाग अफिम खेतीले ढाकेको छ । अफिम खेती गर्न गाँजाको जस्तो ब्याँड राख्न पर्दैन । तोरीजस्तै खेतबारीमा छरेपछि आफैं उम्रने र फुल्ने गर्छ । अफिम खेती गर्न गाँजालाई भन्दा बढी चिस्यान चाहिन्छ । साविकको राक्सिराङ गाविसमा सबैभन्दा धेरै अफिम खेती गरिएको छ ।
भदौ अन्तिमदेखि असोज पहिलो सातासम्ममा खेतबारीमा अफिमको बीउ छर्ने गरिन्छ । माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म अफिमको फूल फुल्छ । त्यही फूललाई चिरेर चोप निकालेर संकलन गर्ने गरिन्छ । एक कठ्ठा खेतबारीमा लगाएको अफिमको बोटबाट एक केजीभन्दा बढी अफिम उत्पादन हुन्छ । गतवर्ष अफिम प्रतिकेजी दुईलाख ५० हजार रुपियाँमा बिक्री भएको स्थानीयको भनाइ छ । प्रहरीले चालु आवमा राक्सिराङ र कैलाश गापामा दुईसय ९२ बिघामा लगाइएको गाँजा र अफिम खेती नष्ट गरिसकेको छ । राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको अफिम तत्काल नियन्त्रण कारागारमा छन् ।







