मध्यवर्ती सामुदायिक वनको अधिकारका लागि महासंघले पहल गर्ने
हेटौंडा- पर्सा राष्ट्रिय निकुन्जले सामुदायिक वनको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले समन्वयकारी भूमिका निर्वाह गर्ने भएको छ । शुक्रबार महासंघको कार्यालय, हेटौंडामा भएको सरोकारवालाहरुको बैठकमा बोल्दै महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले समुदायको अधिकार स्थापित गर्न महासंघ सदैव समुदायको साथमा
रहने बताए ।
कार्यक्रममा मध्यवर्ती सामुदायिक वनका अध्यक्षहरुले समूहको स्वीकृत विधान र कार्ययोजनाअनुसार काम गर्न नपाएको, उपभोक्ताहरुलाई घाँस, दाउरा र काठको प्रयोग गर्नबाट बञ्चित गराएको गुनासो गरेका थिए । उनीहरुले परापूर्व कालदेखि आफूहरुले भोगचलन गर्दै आएको वनमा निकुन्जका कर्मचारीले उपयोग गर्नबाट रोकेकोमा दुःखेसो पोखे ।अनावश्यकरुपमा आफूहरुलाई कहिलेकाहि निकुन्जका कर्मचारीहरुले बन्धक बनाउने गरेको भन्दै मध्यवर्ती सामुदायिक वनका पदाधिकारीहरुले वनमा उपभोक्ताहरुको सहज पहुँचको लागि महासंघले नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, मनहरीका अध्यक्ष हेमलाल उप्रेती, आदिवासी जनजाती महासंघ, मकवानपुरका सदस्य कृष्ण राई, विभिन्न मध्यवर्ती सामुदायिक वनका अध्यक्षहरु, सञ्चारकर्मीलगायत सहभागी थिए ।महासंघले निकुन्जलाई दबाब दिन फागुन २७ गते मनहरीको रजैया र २८ गते पदमपोखरीमा व्यापक जनपरिचालनमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महासंघ मकवानपुरकी सहजकर्ता अञ्जली थापाले बताइन् ।







