मनाइयो ७८ औं फार्म दिवस
हेटौंडा- बाख्रा विकास फार्म चित्लाङले ७८ औं फार्म दिवस मनाएको छ । कृषि तथा पशुपन्छी मन्त्री हुमागाईं, राज्यमन्त्री इन्द्रमाया गुरुङको आतिथ्यतामा दिवस मनाइएको छ ।मन्त्री हुमागाईंले फार्म सरकारको मात्र नभई नागरिकको पनि सम्पति भएकाले यसलाई संरक्षण गर्दै राज्यले व्यवस्थित बनाउनुपर्ने बताए । उनले चित्लाङबासीलाई गाउँभरि मकै फलाउन आग्रह गर्दै फार्ममा साईलेज उत्पादन गर्ने उद्योग खोल्ने बताए । उनले फार्म अवस्थित थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकालाई बाख्रापालनको हबका रुपमा विकास गर्नुपर्ने बताए । नमूना फार्म भनेर राज्यले करोडौं अनुदान बाँड्ने गरेको तर, सरकारकै फार्मको अवस्था नाजुक रहेको भन्दै मन्त्री हुमागाईंले चित्त दुखाए ।
किसानलाई बाख्रा पाल्न फार्मले सिकाउनुपर्ने उनको भनाइ छ । उनले विदेश गएर कुल्ली काम गर्न तयार हुने युवाहरुलाई नेपालमा बाख्रा पाल्न किन नहुने भन्दै प्रश्न गरे ।इन्द्र सरोबर गाउँपालिका अध्यक्ष जीवन लामाले बाहिरका किसानहरुलाई बाख्रा लिन चित्लाङ आउने स्थिति सिर्जना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा इन्द्रसरोबर १ नम्बर वडाका वडा अध्यक्ष जमानसिं वाईबा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक मुगलप्रसाद साह, फार्मका पूर्व प्रबन्धक मेघराज ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।कार्यक्रमको अबसरमा कामदार चमेली रुम्बा र फार्ममा २१ वर्षदेखि प्राविधिक कर्मचारीका रुपमा काम गर्दै आएका तुलसीराम बास्तोलालाई जनही दुईहजार पानी सय नगदसहित सम्मान गरिएको थियो ।







