लोपोन्मुख समुदायबाट उदायकी सन्तोषी
हेटौंडा- सन्तोषी वनकरिया । लोपोन्मुख समुदायबाट उदायकी एक उदाहरणीय पात्र । जो वनकरिया समुदायलाई शिक्षित र आत्मनिर्भर बनाउने अभियानमा छिन् । उनलाई गाउँमा सबैले सन्तोषी दिदी भन्छन् । किनकी उनी साँच्चिकै गाउँका बालबालिकाको लागि ज्ञान छर्ने दिदी बनेकी छन् ।सरकारले लोपोन्मुख समूहमा राखेको वनकरिया समुदायमा जन्मिएर पनि उनले हासिल गरेको सफलता आममानिसको लागि सामान्य भएपनि वनकरिया समुदायको लागि भने अकल्पनीय हो । जंगलमा रमाउन मन पराउने र सामान्य मान्छेलाई देख्दा पनि डराउने वनकरिया बस्तीमा हुर्केकी उनले ९ वर्षसम्म जंगलको जीवन बिताइन् । जंगलमै जन्मेर जंगलमै हुर्किएकी सन्तोषीले विद्यालय गएर पढ्ने र सामान्य मान्छेसरह जीवन बिताउने कुरा कल्पना पनि गरेकी थिइनन् ।
झन् अरुको शिक्षाको पनि सहारा बन्ने कुरा त उनको लागि निकै पर थियो । ९ वर्षसम्म जंगलमै गिठ्ठा भ्याकुर खाएर हुर्केकी उनी पहिलोपटक समुदायमा आउँदा डराएकी थिइन् । सामान्य मान्छेलाई देख्दा पनि डराउने उनले ९ वर्ष हुँदा पहिलो अक्षर चिन्न पाइन् । जंगलबाट समुदायमा आएपछि उनले अरू स्कुल गएर पढेको देखिन् ।आफूलाई पनि विद्यालय जाने रहर जागेपछि पढाइमा उनले अगाडिबढाएको कदम अहिले समुदायका ३३ बालबालिकाको साहारा बनेको छ । अरूले सुकिलो लुगा लगाएर स्कुल गएको देखेरमात्रै विद्यालय जान थालेकी आफूले पढेर गाउँका बालबालिकालाई सिकाउन पाएकोमा खुसी लागेको उनले बताइन् । ‘पेटभरि पनि कहिल्यै खान नपाएको अवस्थामा स्कुल गएर पढ्न पाउनु मेरा लागि ठूलो कुरा हो’, उनले भनिन् । सन्तोषीले समुदायमा अझै पनि शिक्षा प्राथमिकता नपरेको हुनाले आफैंले पढाउन थालेको बताइन् । ‘म स्कुल जान पाउँला भन्ने पनि मैले सोचेकी थिइनँ तर, मैले एसएलसीसम्म पढ्न पाएँ’, उनले भनिन्, ‘त्यसपछि आफूले चाहेअनुसारको पढेर जेटीए बन्न पाएँ । अब वनकरिया बस्तीलाई शिक्षित र आत्मनिर्भर बनाउनु छ ।’
सन्तोषी वनकरिया समुदायमा एसएलसी पास गर्ने दोस्रो व्यक्ति हुन् । स्कुल भर्ना निःशुल्क भएपनि कापी कलमको जोहो गर्न उनलाई निकै मुस्किल परेको थियो । उसो त घण्टौं जंगलको बाटो एक्लै बिहान साँझ हिँड्न पनि उनलाई गाह्रो नपरेको होइन ।सन्तोषी समुदायमा घुलमिल भएर स्कुल जान थालिसक्दा पनि उनका बुवाआमा अरू मान्छे देख्दा डराउँथे । त्यसैले उनले पढाइमा घरबाट सहयोग पाउन सकिनन् । विभिन्न व्यक्तिको सहयोगमा एसएलसी पास गरेकी उनले अरूको सहयोगमै जेटीए पढिन् । गिठ्ठा भ्याकुर खोज्दै हुर्किएकी उनले कृषिसम्बन्धी पढ्न रुचाइन् । जेटीए पढ्न उनलाई केही व्यक्तिले सहयोग गरेपनि पढ्दा आवश्यक पर्ने किताब कापी, खाना र बस्नको व्यवस्था उनले क्रिष्टल माला उनेर जुटाइन् । निकै संघर्ष गरेर जंगलदेखि जेटीएसम्मको यात्रा तय गरेकी सन्तोषी गाउँकाबालबालिकालाई हरेक बिहान दुई घण्टा पढाउँछिन् ।
भर्खरै बोली फुट्न थालेका बालबालिकालाई स्कुलप्रतिको लगाव बढाउन पनि सन्तोषी पढाउन थालिहाल्छिन् । विद्यालय जाने बालबालिकालाई पनि उनी बिहान पढाएरमात्रै पठाउँछिन् । सन्तोषी जेटीए पढेर गाउँ आउँदा स्कुल जाने विद्यार्थी नै थिएनन् तर, उनले आफैंले गाउँमै पढाउन थालेपछि वनकरियाका छोराछोरी विद्यालय जान थालेका छन् । बिहान २ घण्टासम्म सन्तोषीसँग पढेपछि मात्रै वनकरिया समुदायका बालबालिका विद्यालय जान्छन् ।‘सुरुमा त मैले गाउँमा पढाउँछु भन्दा कसैले पनि मानेनन् तर, बिस्तारै अहिले ३३ जना बालबालिका मसँग पढ्न आउँछन्’, उनले भनिन् । अहिले सन्तोषीले मनहरी गाउँपालिका–४ नयाँबस्ती स्थित आफ्नै गाउँमा तरकारी खेती गरेकी छन् । गाउँका बालबालिकालाई पढाउनुका साथै उनी गाउँलेलाई तरकारी खेतीमा प्रेरित गरिरहेकी छन् । सन्तोषीले अहिले काउली तथा विभिन्न प्रकारका साग खेतमा टन्नै लगाएकी छन् ।
उनी गाउँका वनकरियाका छोराछोरीलाई पढाउँछिन् भने तिनका अभिभावकलाई कसरी खेती गर्ने भनेर सिकाउँछिन् । वनकरिया समुदाय अरूमाथि निर्भर बनेको उनलाई पटक्कै मन पर्दैन । हरेक कुरामा पछाडि परेका वनकरिया समुदाय खानकै लागि पनि अरूको सहयोगको बाटो हेरेको आफूलाई मन नपर्ने गरेको बताउँछिन् । त्यसैले सन्तोषी वनकरिया बस्तीलाई आत्मनिर्भर बनाउन चाहन्छिन्। सामान्य मान्छेले जस्तै वनकरियाले पनि आफैं आयआर्जन गरेर जीवनयापन गरेको हेर्ने उनको इच्छा छ । त्यसैले सन्तोषी आफ्नो सीप र शिक्षा दुबैलाई वनकरिया बस्ती परिवर्तनमा लगाइरहेकी छन् ।







