घरभित्रै मिल्छन् अधिकांश घरेलु हिंसा

सन्दर्भ ११२ औ महिला दिवस
साझाकुरा
२०७८ फाल्गुन २४, मंगलवार १७:२८

हेटौंडा- आज मंगलबार ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस । सामाजिक न्याय र लैंगिक समानताः दीगो विकासको सुनिश्चितता भन्ने नारासहित मनाइँदै छ ।प्रत्येक वर्ष फरक–फरक नारासहित दिवस मनाउने गरिन्छ । तर, लैंगिक समानताको नारासहित महिला दिवस मनाइरहँदा महिलाहरुले सहने हिंसाको घटनामा भने कमी आएको छैन । महिलाको क्षेत्रमा भएका काम, अधिकार र महिलाको अवस्थामा ठूला होटलहरुमा बैठक र गोष्ठी सञ्चालन गरिरहँदा महिलाहरुले विभिन्न हिंसाबाट छुट्कारा पाउन सकेका छैनन् ।

अधिकांश महिलासम्बन्धी घरेलु हिंसाका उजुरी मिलापत्र भएर घरमा नै सीमित हुने गरेको पाइएको छ । घरेलु हिंसा सहन परेपछि महिलाहरु पीडा सहेर नै घरभित्रै मिलाउन बाध्य भएको तथ्याड्ढले देखाउँछन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याड्ढअनुसार दर्ता भएका अधिकांश उजुरी मिलापत्रमा टुंगिने गरेको पाइएको हो । महिलामाथि हुने विभिन्न प्रकारका घरेलु हिंसाका घटनाहरु प्रहरीसम्म पुगेपनि अधिकांश घटनाहरु मिलापत्र भएर घरमा नै फर्किने गरेका छन् ।

चालु आर्थिक वर्ष २०७८÷०७९ को हालसम्म दुईसय ४६ वटा उजुरी परेकोमा एकसय ५९ वटा उजुरी मिलापत्रमा टुंगिएको छ । जसमध्ये ३१ वटा मुद्दा अदालतसम्म पुगेका छन् भने बाँकी ५६ वटा मुद्दाको कार्यान्वयन प्रक्रिया अगाडि बढेको छ ।मकवानपुर प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको जानकारी अनुसार चालु आवमा सबैभन्दा धेरै मानसिक यातानासम्बन्धी घरेलु हिंसाको उजुरी परेको छ । एक सय ९० वटा मानसिक यातना सम्बन्धी उजुरी परेकोमा एकसय २७ वटामा मिलापत्र भएको छ । जसमध्ये २३ वटा मुद्दा अदालतमा पुगेका छन् । खान, लगाउन नदिने, घर निकाला गर्ने, नागरिकता र विवाह दर्ता नबनाइदिने जस्ता मानसिक यातनाको ९० प्रतिशतभन्दा बढि उजुरी प्रहरीकोमा परेपछि अदालतसम्म पुग्दैन ।

शारीरिक कुटपिट सम्बन्धी ३७ वटा उजुरी दर्ता भएकोमा २१ वटामा मिलापत्र भएको केन्द्रकी प्रमुख चुडाकुमारी खड्काले जानकारी दिएकी छन् । उनका अनुसार शारीरिक कुटपिटसम्बन्धी २१ वटा उजुरीमा मिलापत्र हुँदा ६ वटा मुद्दामात्रै अदालती प्रक्रियामा पुगेको छ । १० वटा उजुरीमाथि भने आवश्यक काम भइरहेको खड्काले बताइन् ।केन्द्रमा लालनपालन नगर्ने, वेवास्ता गर्ने, औषधी उपचार नगर्ने, घरमा बस्न नदिने र आयआर्जन हुने काम गर्न नदिने आर्थिकसम्बन्धी १९ वटा उजुरी परेपनि ११ वटामा मिलापत्र भएको पाइएको छ । यससम्बन्धी २ वटा मुद्दामात्रै अदालतमा पुगेको खड्काले जानकारी दिइन् । ६ वटा उजुरीको भने आवश्यक काम कारबाही अघि बढेको छ ।

प्रहरी कार्यालयमा आएका उजुरी बाहेक जिल्लास्थित दशवटै स्थानीय तहको न्यायीक समितिमा परेका घरेलु हिंसासम्बन्धी उजुरीसमेत मिलापत्र हुने गरेको देखिन्छ । घरेलु हिंसामा विवाद मिलापत्र गराउने र नमिलेको अवस्थामा मात्रै अदालत पठाउने गरेको न्यायीक समितिहरुले जनाएका छन् ।पछिल्लो समयमा स्थानीय तहका न्यायीक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाका आउने गरेको उक्त समितिहरुले जनाएको छ । कुटपिट गरेको, महिला हिंसाका बारेमा खान लाउन नदिएकोलगायत उजुरी आउने र त्यस्ता उजुरीमा दुबै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको छ ।

महिला अधिकारकर्मी माइती नेपाल मकवानपुरकी संयोजक माया लामाले उजुरी दिने महिलाहरुकै कारण मिलापत्र हुने गरेको बताइन् । उनका अनुसार अधिकांश महिलाहरु घरेलु हिंसा सहेर बस्ने बाध्य छन् । महिलाहरु आफूमा आत्मनिर्भर नहुनु, घरपरिवार र समाजबाट सहयोग नहुनुलगायत विभिन्न कारणले घरेलु हिंसाका घटना मिलापत्रमा टुंगिने गरेको उनको भनाइ छ । वर्षौसम्म हिंसा सहेका महिलाहरु सहनै नसक्ने अवस्थामा मात्रै प्रहरीसम्म पुग्ने गरेको उनको भनाइ छ ।प्रहरीकोमा पुगेका महिलाहरु पनि आफूमाथि भएको हिंसालाई मुद्दाको रुपमा अगाडि बढाउन नचाहने गरेको लामाले बताइन् । ‘महिलाहरु कमलो मनका हुन्छन् । जतिसुकै हिंसा भोग्नु परेको भएपनि भोलिपल्टै आएर उजुरी फिर्ता गर्दै आफ्नो श्रीमानलाई छुटाएर लैजानु हुन्छ’, उनले भनिन् ।लामाले घरेलु हिंसाका पीडकलाई २४ घण्टाभन्दा बढि थुनेर राख्न नहुने कानुनी व्यवस्था हुनु र ३० दिनभित्र मिलापत्र गर्ने व्यवस्थाले पनि पीडकलाई प्रश्रय मिलेको जिकिर गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*