आफन्तबाट असुरक्षित बन्दै बालिका
हेटौंडा-डेढ महिनायता मकवानपुरमा तीन जना बालिका बलात्कृत भएका छन् । महिला तथा बालबालिकाको नाममा विभिन्न दिवस मनाइरहँदा बालबालिका बलात्कृत हुने संख्यामा भने कमी आउन सकेको छैन ।अझै पछिल्लो समय भइरहेको बलात्कारको अवस्थालाई हेर्दा बालिकाहरु आफन्तबाट नै असुरक्षित देखिएका छन् । पछिल्लो समय बलात्कृत तीन जना बालिकाहरु आफन्त र चिनेजानेका पुरुषबाटै बलात्कृत भएको तथ्याड्ढले बालिकाहरु आफन्तबाट नै असुरक्षित छन् भन्ने देखाएको हो ।
करिब दुई साताअघि १३ वर्षीया बालिका टीभी हेर्न साथीको घर गएका बेला आफन्तबाटै बलात्कृत हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । साथीको घरमा दिनभरि टीभी हेरेपछि साँझपख घर जान हिँडेकी बालिकालाई बाटोमा मामा पर्ने एक पुरुषले भेटे । मामालाई भेटेपछि उनी खुशी भएर घरतर्फ जाने क्रममा मामाले उनलाई एकसय रुपियाँ दिँदै आफूले भनेको मान्न आग्रह गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । मामाले उनलाई झाडीमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो ।
असह्य पीडा भएपछि चिच्याउन लागेकी उनलाई ती मामाले मार्ने धम्की दिएपछि उनले पीडा सहेर बसेको खुलेको छ । बिहान उनी सहजै हिँड्न नसकेपछि आमाले सोध्दा पीडित बालिकाले घटनाबारे जानकारी गराएकी थिइन् ।अर्की ९ वर्षीया बालिका टीभी हेर्नका लागि नै छिमेकीको घरमा गएकी थिइन् । छिमेकीको घरमा एकजना दाइ नाता पर्ने पुरुष कोठामा टीभी हेरिरहेका थिए । बालिका पनि कोठामा गएर बसिन् र टीभी हेर्न थालिन् । टीभी हेर्ने क्रममा बालिकामाथि बलात्कार भएको र बालिका चिच्याएपछि स्थानीयको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार केही दिनअघि मात्रै १६ वर्षीया किशोरी यसैगरी बलात्कृत भएकी थिइन् ।
उनलाई बलात्कार गर्ने १७ बर्षीय किशोर गत भदौमा जबरजस्ती करणी उद्योगमा सजाय पाएर बाल सुधारगृह पुगेका थिए । पुसमा मात्रै सुधार गृहबाट निस्किएका उनी अहिले बलात्कारको आरोपमा जेलमा छन् । मकवानपुरमा मात्र चालु आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखि हालसम्म २० वटा बलात्कारका घटना भएका छन् । जसमध्ये १२ जना बालिका पीडित भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख चुडाकुमारी खड्काका अनुसार अधिकांश बालिका आफन्त र चिनजानका व्यक्तिहरुबाटै बलात्कृत भइरहेका छन् ।
‘बालिका बलात्कारका घटनाहरु अधिकांश आफन्त, चिनजान र हाडनाताबाट नै भइरहेको पाइएको छ’, उनले भनिन् । बालिकाबारे सम्पूर्ण कुरा थाहा पाएका विश्वासिलो पात्रको रुपमा रहेकाहरुबाट नै बालिकाहरु बलात्कृत हुने गरेको उनको भनाइ छ ।
नचिनेका मान्छेबाट हुने बलात्कारका घटना एकदमै न्यून देखिएको खड्काले जानकारी दिइन् । कतिपय घटनामा बालिकालाई विभिन्न प्रलोभनमा पारेर बलात्कार गर्ने गरेको पनि उनी बताउँछिन् ।
पैसाको प्रलोभन दिएर फकाएर वा डर त्रास देखाएर बलात्कार गर्ने गरेको उनले बताइन् । खड्काका अनुसार आफन्त र चिनेजानेको मान्छेबाट हुने बलात्कारको घटनालाई मिलाउन खोज्ने गरेको पनि पाइन्छ ।







