बनकारिया बस्तीलाई घरेलु हिंसामुक्त बनाउने प्रण
हेटौंडा-लोपोन्मुख बनकरियाहरुले घरेलु हिंसा मुक्त समाज निर्माण गर्ने प्रण गरेका छन् ।११२ औं अन्तर्राट्रिष्य श्रमिक महिला दिवसको अबसरमा बनकरिया वस्तीका महिलाहरुले हिंसामुक्त बस्ती बनाउन शिक्षा र आयआर्जनमा जोड दिने बताएका हुन् । बनकरिया महिला प्रमुख सन्तमाया बनकरियाले अब महिलाको काँधमा नयाँ जिम्मेबारी थपिएको बताइन् । ‘बनकरिया महिलाहरुले आयआर्जनमा जोड दिँदै महिला हिंसा अन्त्य गर्न सकिने रहेछ । हामी आयआर्जन गर्न लागिपर्छौ । आयआर्जन गरेपछि आफ्नो खुट्टामा उभिन सकिने रहेछ’, सन्तमायाले भनिन् ।
मंगलबार दिवसको अबसरमा शिक्षाको लागि राष्ट्रिय अभियान, डेक नेपाल र मेन ईगेज एलायन्सको संयुक्त आयोजनामा लोपउन्मुख बनकरिया समुदायको शिक्षामा पहुँच बिषयमा छलफल भएको थियो । छलफलमा आफूले पढन नपाएको कारण दुःख भोग्नु परेको भन्दै बनकरिया बालबालिकालाई पढाउनु पर्नेमा जोड गरिन् ।सुन्तली बनकरिया र साबित्री बनकरियाले महिलाले सीप मूलक काम गर्नुपर्ने रहेछ भन्दै तालिम माग गरेका छन् । श्याम बनकरिया र भीमलाल वनकरियाले अब महिला हिंसा नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बनकरिया समुदायका ३५ जनाको सहभागिता थियो । शिक्षाको लागि राष्ट्रिय अभियान बागमती प्रदेश संयोजक तथा मेन ईंगेज एलायन्सका बागमती प्रदेश संयोजक प्रकाश खतिवडाले नेपालको संविधान, २०७२ मा भएको सीमान्तकृत वर्ग, महिलाको अधिकार, समानताको हक, शिक्षाको हकको बारेमा प्रशिक्षण दिएका थिए । उनले वनकरिया महिलाको समस्या र वनकरिया बालबालिकाको शिक्षामा पहुँच नपुग्नुको कारण के हो ? र उक्त समस्या समाधानको लागि कस्को के भूमिका र सहयोग हुन सक्छ भन्ने बिषयमा सहजीकरण गरेका थिए ।
नारी सीप सृजना केन्द्रका कार्यकारी निर्देशक चीरञ्जीवी पौडेलले महिला आर्थिकरुपमा सशक्तीकरण नभएमा महिला हिंसा हुनसक्ने भएकोले आर्थिकरुपमा सक्षम हुनुपर्ने बताए । अधिकार प्राप्तिका लागि महिलाको भूमिका र जिम्मेबारी विषयमा पौडेलले कार्यक्रममा सहजीकरण गरेका थिए । ग्रामीण असहाय बालबालिका सामुदायिक पुनःस्र्थापना केन्द्रका कार्यक्रम प्रबन्धक केदार आचार्यले बनकरिया महिलाहरुलाई सीप सिक्न अभिप्रेरित गरे । कार्यक्रमको सभाध्यक्षता गरेका अभियानका जिल्ला संयोजक बुद्धबीर लामाले सार्वजनिक शिक्षाको सुदृढीकरण हुनुपर्ने, राज्यले वनकरियालाई अनिवार्य र निःशुल्क शिक्षा प्राप्तिमा अभियान संचालन गर्न आग्रह गरेका छन् ।बनकरियाका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चितताको लागि गम्भीर बन्न उनले आग्रह गरे । बनकरिया महिला र बालिकालाई हिंसा हुनबाट जोगाउन र शिक्षा प्राप्तिको लागि अभिभावक सचेत हुनपर्ने र राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए ।







