महिला पत्रकारलाई स्यानेटरी प्याड
हेटौंडा- सञ्चारिका समूह मकवानपुरले प्रत्येक महिना जिल्लाका महिला पत्रकारलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने भएको छ ।समूहले मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला पत्रकारहरुका लागि स्यानेटरी प्याड वितरण शुभारम्भ गरेको हो । कार्यक्रम हरेक महिना सञ्चालन हुने सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजालले जानकारी दिइन् ।कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले महिलाहरुको नेतृत्व र सशक्तीकरणका लागि राजनीतिक दलहरुले नै अग्रसरता देखाउनुपर्ने बताइन् ।
दलहरुले अहिले महिला नेतृत्वलाई अघि आउने अवसर नदिएको भन्दै संविधानमा व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित नभएको बताइन् । महिलाहरुलाई संधै दोस्रो पदमा मात्र राख्ने गरेको बताउँदै अब आफू हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा आउन चाहेको उनले बताएकी छन् । उनले महिला पत्रकारहरुले सुरु गरेको प्याड वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष धु्रव अधिकारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतको उपस्थिति थियो ।







