मकवानपुरको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा घिमिरे
हेटौं- नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रित ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत् मकवानपुरमा गुरुराज घिमिरे तोकिएका छन् ।नेपालको ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार मकवानपुरमा घिमिरे तोकिएका हुन् । कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने भएको छ । २९ चैत्रसम्म चल्ने अभियानको लागि केन्द्रबाट प्रतिनिधि नै पठाएर कांग्रेसले आफ्नो कुरा जनतासमक्ष राख्ने भएको छ । जसका लागि मकवानपुरमा खटाइएका घिमिरेले केन्द्रको निर्देशनअनुसार मकवानपुरका सबै १० वटै स्थानीय तहमा जिल्ला समितिलाई समेटेर अभियान संचालन गर्नेछन् ।
मंगलबार सभापति शेरबहादुर देउवाले केन्द्रबाट खटिने प्रतिनिधिहरुको बैठक राखेर केन्द्रीय तहदेखि पालिकासम्मको जिम्मेवारी बाँडफाँडसहित निर्देशनसमेत दिएका थिए । बैठकले प्रदेश, जिल्ला र पालिका कार्यसमितिको भूमिकासमेत स्पष्ट पार्दै कांग्रेसको पक्षमा माहौल तयार पार्न निर्देशन दिएको छ । बैठकले भातृ तथा शुभेच्छुक संस्थाको जिम्मेवारीसमेत तोकेर कार्यक्रमहरु तयार गरिएको छ ।







