प्लाष्टिक प्रयोग घटाउन युवा परिचालन
हेटौंडा- युवाहरुलाई परिचालन गरेर मकवानपुरगढी गाउँपालिकामा घरायसी प्रयोगमा आउने प्लाष्टिकको वैकल्पिक उपाय खोजी हुने भएको छ ।हरियाली प्रवद्र्धनको लागि युवा परिचालन कार्यक्रअन्तर्गत् गाउँपालिकाको ८ वटा सहरोन्मुख क्षेत्रमा प्लाष्टिकको प्रयोग घटाउने, पुनः प्रयोगमा ल्याउने र पुर्नःस्थापनाको काम गर्न अभियान चलाइने भएको छ । गाउँपालिकाभित्रका युवाहरुलाई अभियानमा सहभागी गराएर प्लाष्टिकको प्रयोगबाट कृषि तथा मानव स्वास्थ्यमा पर्ने असरका बारेमा सचेतना जगाउने कार्य गरिने भएको हो । राली इन्टरनेशनलको आर्थिक सहयोगमा ग्रामीण जागरण तथा विकास संस्था (राडो) नेपालले प्लाष्टिक नियन्त्रण परियोजना सञ्चालन गर्न लागेको हो ।
अभियान तीन महिनासम्म सञ्चालन हुने राडोका अध्यक्ष कृष्ण धितालले जानकारी दिए । कार्यक्रम सञ्चालन हुनुअघि गाउँपालिका अध्यक्ष बिदूर हुमागाईं, उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीसहित ८ वटै वडा अध्यक्षहरुसँग मंगलबार प्रारम्भिक बैठक भएको थियो । बैठकबाट गाउँपालिकाको ८ वटा वडाको ८ वटै सहरोन्मुख क्षेत्रमा पोलिथिन झोला नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । राडोका अनुसार गाउँपालिकाभित्रका ५ हजार युवाहरुलाई अभियानमा सहभागी गराइने भएको हो ।
प्लाष्टिकको अत्यधिक प्रयोग गर्दा क्यान्सर निम्त्याउन सक्ने, प्लाष्टिकले खेती योग्य जमिनको उत्पादनमा ह्रास ल्याउने, प्रज्वलनशील हुने, प्रयोगपश्चात् सहजै नष्ट गर्न नसकिने, पर्यावरणमा कालान्तरसम्म नकारात्मक असर पु¥याउने, प्लाष्टिकको प्रदुषणले धेरै आर्थिक क्षति निम्त्याउन सक्ने राडोले उल्लेख गरेको छ । बाक्लो बसोबास भएको र पसलहरु भएका स्थानमा प्लाष्टिकका झोलाको प्रयोग घटाउनेबारे युवाहरुले नै सर्वसाधारणलाई सचेतना जगाउने परियोजनाको उद्देश्य छ ।
गाउँपालिकाको १ नम्बर वडाको पिङडाँडा–आँपटार– रानीसेरा, २ नम्बर वडाको बाँसपानीदेखि शिखरकटेरी, ३ नम्बर वडाको देविडाँडादेखि मक्राञ्चुली, ४ नम्बर वडाको सामरी पुल–मनकामना–रुद्र बाटिका, ५ नम्बर वडाको सिमलटार–धादिङ–भालुखोला, ६ नम्बर वडाको झल्लादेखि डुम्रेकुना, ७ नम्बर वडाको सातकन्यादेखि न्यौपानेटार र ८ नम्बर वडाको बुढीचौर टोल विकास क्षेत्रमा अभियान सञ्चालन हुने परियोजना संयोजक विष्णु धितालले बताए ।
राडोले सुरुवातमा गाउँपालिका, वडा कार्यालय, स्थानीय जनप्रतिनिधिहरु, विशेषज्ञ, स्थानीय व्यवसायी, स्थानीय युवासँग सेमिनार तथा गोष्ठि गरेर प्लाष्टिकको प्रयोग घटाउनेबारे छलफल गरिने फिल्ड अफिसर अशोक स्याङ्तानले बताए । समुदायमा प्लाष्टिकको प्रयोग सम्बन्धी जनचेतना फैलाउने, वातावरणीय समूहहरु सृजना गर्ने र स्थानीय नेतृत्वमा रहेका व्यक्तिहरुलाई अग्रसर गराउने, दीगो रुपमा प्लाष्टिकको विकल्पहरु पत्ता लगाउने र युवाहरुलाई यस अभियान प्रवद्र्धनका लागि अग्रसर गराइने स्याङ्तानले बताए ।
गाउँपालिका अध्यक्ष हुमागाईंले तीन महिने अभियानसँगै फोहोरमैला व्यवस्थापनलाई दीर्घकालीन योजना अघि सारेको बताए । उनले मकवानपुरगढीलाई स्वच्छ वातावरण बनाईराख्न अभियान आवश्यक रहेको औंल्याएका छन् । पालिकालाई हरियाली क्षेत्र निर्माण गर्न समाजलाई जागरण गराएर अभियान चलाइराख्नु पर्नेमा जोड दिए । कार्यक्रममा वडा अध्यक्षहरु जितबहादुर घिमिरे, भागवत घिमिरे, बखानसिं पाख्रिन, रामप्रसाद तिमल्सिना, आइत सिं लो, टीकाप्रसाद दाहाललगायतको आतिथ्यता थियो ।







