प्रमुख प्रतिपक्षीमाथि नै सरकारका आरोप
हेटौंडा- बागमती प्रदेशसभा बैठक करिव तीन महिनापछि आईतबार बसेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पुस ८ गतेदेखी बन्द अवस्थामा रहेको प्रदेशसभा बैठक आईतबार बसेको हो । आईतबारको बैठक पनि अवरुद्व गर्ने मनशायमा रहेको एमालेले अन्ततः बैठक सञ्चालन गर्न दिएको छ । पुनःबैठक अवरोध गरे चालू अधिवेशन नै अन्त्य गरेर अध्यादेशमार्फत काम गर्ने तयारी सरकारले गरेपछि एमालेले संसद विना अवरोध सञ्चालन हुन दिएको हो ।नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले संसद अवरुद्व भइरहदा आफूहरुले बोल्ने ठाउँ नभएकोले बैठक सञ्चालन गर्न दिएको प्रतिक्रिया दिएकी छन् ।
उनले संसद चल्न नसक्दा आफूहरुले बोल्ने ठाउँ नभएको र सरकार एक्लै मनोमानी ढंगले अगाडि बढेकोले बैठक सञ्चालनमा अवरोध सिर्जना नगरेको बताइन् । शाक्यले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफूहरुले सोधेको प्रश्नको जवाफ सदनमा दिएकोले पनि बैठक चल्न दिएको बताएकी हुन् । संसद बैठकको सुरुवातमा नै मुख्यमन्त्री पाण्डेले सम्बोधन गरेका थिए । एमालेको अवरोधको कारण तीन महिनादेखि बन्धक बनेको प्रदेशसभा खुलाउन संसदको रोष्टममा उभिएका मुख्यमन्त्री पाण्डे एमालेमाथि नै गर्जिएका थिए । आधा घण्टा भन्दा बढी समय संसदमा बोलेका उनले पुर्व मुख्यमन्त्री डोरमणि पौडेलमाथि आरोपको चाङ थुपारेका छन् ।
आफू नेतृत्वको सरकारले एउटै भवनमा पाँचवटा मन्त्रालय राखेको विषयमा निकै टिप्पणी भएको भन्दै मुख्यमन्त्री पाण्डेले पौडेल नेतृत्वको सरकारले स्थायी भवन निर्माण नगर्दा यस्तो अवस्था आएको बताएका थिए । लामो समय सरकार चलाएका पौडेलले प्रादेशिक संरचना निर्माण नगरेकै कारण एउटै भवनमा धेरै मन्त्रालय राख्नु परेको उनको आरोप थियो । ‘हामी आएपछि संरचना निर्माणका लागि जग्गाको पहिचान गरेर संघीय सरकारलाई पठाइसक्यौं । तर साँढे तीन वर्ष सत्ताको नेतृत्व गरेका डोरमणि पौडेलले के गरे ?,’ उनले भने ।
प्रदेश सरकारको लामो समय नेतृत्व गरेकाहरुले इमान्दारितापूर्वक काम गरेको भए धेरै कुरा व्यवस्थित भइसक्ने पौडेलको नैतिकतामाथि प्रश्न उठाए । आफ्नो नेतृत्वमा करिब चार महिना सरकार सञ्चालन गर्दा धेरै कामको सुरुवात गरेको उनको दावी थियो ।मुख्यमन्त्री पाण्डेले सबैको सहयोगमा सुरु गरिएको मदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठानको नाममा कुनै जग्गा समेत नभएको भन्दै हेटौंडा अस्पताल नै प्रतिष्ठानको मातहतमा बस्न अनिच्छुक रहनुमा अघिल्लो सरकारको कारण भएको आरोप लगाए ।
तर आफुले नेतृत्व गरेपछि प्रतिष्ठानका लागि साँढे १२ बिगाह जग्गा पहिचान गरेर संघीय सरकारमा स्विकृतिका लागि पठाइएको उनको भनाई थियो । पाण्डेले पौडेल नेतृत्वको सरकारले १३ जना व्यक्तिको नाममा रहेको जग्गामा चिस्यान केन्द्र निर्माण गरेर सरकारी सम्पतिलाई व्यक्तिको हुने अवस्थामा पु¥याएकोसमेत आरोप लगाएका थिए ।
दुईवटा विधेयक पारितकरिव तीन महिनापछि सञ्चालन भएको बागमती प्रदेशसभा बैठकले दुईवटा विधेयक पारित गरेको छ । आईतबार बसेको संसद बैठकले विषयगत समितीहरुमा दफावार छलफल भई आएको दुईवटा विधेयक पारित गरेको हो ।
बैठकले प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।बैठकमा सम्बन्धित समितिको प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सामाजिक विकास मन्त्री कुमारी मोक्तानको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले प्रस्तुत गरेका थिए भने सम्बन्धित समितिको प्रतिवेदनसहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए ।
संसदमा पेस भएका दुवै ऐन सर्वसम्मत रुपमा पास भएको छ । आइतबार बसेको बैठकमा ३ वटा विधेयकमाथी सैद्वान्तिक छलफल भएको छ भने एउटा विधेयक संशोधनको लागि विषयगत समितिमा गएको छ ।प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले पेस गरेको प्रदेश संचार माध्यम व्यवस्थापन ऐन, २०७५ संशोधन, प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र प्रदेश विपद् व्यवस्थापन ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्वान्तिक छलफल भएको हो । बैठक आज सोमबारपनि बस्ने छ ।







