टीसीएनमा बस टर्मिनल निर्माण धमाधम
हेटौंडा- हेटौंडा उपमहानगरपालिका कार्यालयले टीसीएन क्षेत्रमा सुविधा सम्पन्न बस टर्मिनल निर्माण धमाधम गरिरहेको छ ।हेटौंडा–१० टीसीएन क्षेत्रमा वहुवर्षीय योजनाका रुपमा एक वर्षदेखि बस टर्मिनल निर्माण भइरहेको हो । ३५ करोड लागतमा निर्माण भइरहेको बस टर्मिनलको काम ५० प्रतिशत सकिएको हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले जानकारी दिए । हेटौंडामा वर्षौदेखि सुविधासम्पन्न बस टर्मिनल नहुँदा यात्रुदेखि सवारीधनीसमेतले दुःख पाउँदै आएका थिए । हाल बजार नजिकै साँघुरो क्षेत्रमा बसपार्क सञ्चालन भइरहेको छ । सञ्चालन भइरहेको बसर्पाक पनि व्यवस्थित छैन । यात्रुबाहक सवारी पार्किङ गर्नेदेखि टिकट काउन्टर पनि अव्यवस्थितरुपमै सञ्चालन भइरहेका छन् । हालकै बजार व्यवस्थित नहुँदा यात्रुहरुले धेरै कष्ट गर्नु परिरहेको छ ।
निर्माणधीन बस टर्मिनल एकवर्ष ८ महिनाभित्र सक्ने गरी रसुवा÷आसिस÷बानियाँ जेभीले ठेक्का पाएको हो । चारतले भवन निर्माण हुनेछ । भवनको दुइ तले अण्डर ग्राउण्डमा पार्किङको व्यवस्था गरिने नगर प्रमुख महतले जानकारी दिए । नगर प्रमुख भएपछि महतले बस टर्मिनललाई उपमहानगरको गौरबको योजनाका रुपमा अघि सारेका थिए । बस टर्मिनल निर्माण भएपछि उपमहानगरपालिकाको आन्तरिक आम्दानी बढ्ने र सर्वसाधारणले पनि सुविधा पाउने महत बताउँछन् । ‘हालको बसपार्क पुरानो र कम क्षमताको भएकाले सुविधासम्पन्न बसपार्क निर्माण गर्न लागेका हौं’, महतले भने ।
अहिलेको बसपार्कलाई छोटो दूरीका सवारीसाधनलाई पार्किङ गर्ने गरी व्यवस्थित गरिने महतले जानकारी दिए । निर्माणाधीन बस टर्मिनलमा भने लामो दूरीका सवारीसाधनलाई ओहोरदोहोर गर्ने, यात्रुलाई आराम गर्ने स्थल बनाइनेछ । बस टर्मिनल भवनको माथिल्लो दुई तलामा व्यापारिक कम्प्लेक्स रहने महतले बताए । ‘देश–विदेशबाट हेटौंडा आएका यात्रुलाई बिश्राम गर्ने, हेटौंडालाई व्यवस्थित सहरका रुपमा सर्वसाधारण लाई अनुभूति दिलाउने गरी काम गरिरहेका छौं’, महतले भने । टीसीएनमा सञ्चालित तरकारी बजार क्षेत्रलाई बसपार्कको बगैंचाको रुपमा निर्माण गरिने महतले जनाए ।







