प्रदेश प्रमुखले गरे ‘सेन्टर फर अटिजम’ अवलोकन

साझाकुरा
२०७८ चैत्र १, मंगलवार १०:४९

हेटौंडा- बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार हेटौंडा–४, कर्रास्थित अटिज्म भएका बालबालिका अध्ययन गर्ने सिकाई केन्द्र ‘सेन्टर फर अटिज्म’को अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा प्रदेश प्रमुख शर्माले अटिज्म सन्तानका आमाबाट संचालन आरम्भ भएको सेन्टरलाई सफलताको कामना गर्दै यस कार्यबाट आफू प्रभावित बनेको बताए । ‘अटिज्म भएका बालबालिकालाई ध्यान दिएर यहाँहरुले संचालन गर्नुभएको सेन्टरले सफलता प्राप्त गरोस् ।’ प्रमुख शर्माले भने, ‘यसबाट अटिज्म भएका बालबालिकाको सिकाई तथा विकास अभिबृद्धि भई सक्षम नागरिक तयार गराउन सघाउ पुग्नेछ भन्ने आशा लिएको छु ।’ सेन्टरमा हाल अटिज्म भएका ३ देखि १० वर्षका १३ जना बालक छन् ।

विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उनीहरुलाई आवश्यकता अनुसार सिकाई तथा थेरापी पद्दतीबाट उपचार गराइने सेन्टरकी संयोजक अस्मिता कालिका थपलियाले जानकारी दिइन् । अहिले भाडाको घरमा संचालन गरिएको सेन्टरको संयोजक थपलिया, निशला श्रेष्ठ र उमा पौडेलले व्यवस्थापन गरिरहेका छन् । एक जना अकुपेसनल थेरापिस्ट तथा अन्य ८ जना शिक्षक गरी ९ जना कर्मचारीको पारिश्रमिक तथा अन्य आवश्यक व्यवस्थापन उनीहरुले गरिरहेका छन् ।

आफ्नै बच्चाको सिकाई तथा उपचार हुनाका साथै समुदायका अन्य अटिज्म बालबालिकालाई लाभ पुगिरहेको सेन्टरका सचिव शेखर थपलियाले बताए ।गतवर्ष चैतबाट संचालित सेन्टरलाई अझै व्यवस्थित एवम् प्रभावकारीरुपमा संचालन गराउन सहयोगीको खाँचो रहेको थपलियाले बताए । धेरैलाई अटिज्म के–कस्तो खालको रोग हो भनेर जानकारी समेत नहुने भएकाले यसबारेमा अभिभावकहरु जानकार हुनु आवश्यक रहेको उनी बताउँछन् । यो विशेषगरी बच्चाहरुलाई लाग्ने एक प्रकारको मानसिक रोग भएकाले यसतर्फ सचेत हुनुपर्ने उनी बताउँछन् । बच्चाको सही तरिकाले मानसिक बृद्धि र विकाससमेत हुन नपाउने रोगबाट उनीहरुलाई सामान्य अवस्थामा ल्याई विद्यालयमा पढ्न जानसक्ने बनाउँन आफूहरुले सेन्टर सञ्चालन थालेको सचिव थपलियाको भनाइ छ ।

सेन्टरमा कार्यरत् अकुपेसनल थेरापिस्ट डा. श्रमिका श्रेष्ठ अटिज्म भएका बालबालिकाको थेरापीबाट उपचार, शिक्षण सिकाईका साथै बालबालिकालाई जीवनशैली सिकाउने कार्यसमेत गरिएको बताउँछिन् ।अटिज्म भएका व्यक्तिको लागि सबैभन्दा प्रभावकारी उपचार उनीहरुमा रहेको कमजोरी पक्ष अर्थात् सञ्चार र सामाजिक बुझाईलाई ध्यानमा राखी व्यावहारिक सिद्दान्तको आधारमा शिक्षा प्रदान गर्नु रहेको उनी बताउँछिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*