हेटौंडाको मेयर बन्न पाँच पार्टीका ११ जनाको दौड
हेटौंडा- स्थानीय तहको चुनाव नजिकिँदै छ । दुई महिनापछि अर्थात् वैशाख ३० गते स्थानीय निकायको निर्वाचन मिति तोकिएको छ ।मकवानपुरमा राजनीतिक दलहरु निर्वाचन केन्द्रित आ–आफ्नै रणनीतिअनुसार गतिविधिमा सक्रिय छन् । नेपाली कांग्रेस टोल–टोलमा कमिटी निर्माण गर्दै हिँडिरहेको छ । कांग्रेसले निर्वाचन लक्षित गरी वडा–वडामा पार्टी प्रतिनिधि खटाएको छ । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत् हेटौंडा उपमहानगरपालिकाका वडाहरुमा प्रतिनिधिहरु खटाइएको हो । आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेस जसरी पनि हेटौंडामा चुनाव जित्ने
रणनीतिअनुसार अगाडि बढेको छ । कांग्रेस २०७४ सालको निर्वाचन मतपरिणामअनुसार दोस्रो शक्ति हो ।
हेटौंडाको पहिलो शक्तिका रुपमा एमाले छ । बागमती प्रदेशकै एकमात्र उपमहानगर हेटौंडामा एमाले र कांग्रेसबीच दमदार प्रतिस्पर्धा हुने गत निर्वाचनकै परिणामले देखाउँछ । आगामी निर्वाचनमा एमालेलाई विरासत जोगाउनु छ भने कांग्रेसलाई इतिहास रच्नु छ । कांग्रेसले हेटौंडामा हालसम्म निर्वाचन जित्न सकेको छैन । एमालेको सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हेटौंडा उपमहानगरपालिका हो । २०४६ मा बहुदल स्थापनापछि ०४९ र ०५४ मा भएको निर्वाचनमा हेटौंडामा एमाले बिजयी बनेको थियो । २० वर्षपछि २०७४ मा भएको निर्वाचनमा पनि एमालेका मेयर र उपमेयर नै निर्वाचित भए ।
पार्टी विभाजनपछि घाइते एमालेको बिरासत जोगाउन निर्वाचनमा को–को उम्मेदवार बन्दैछन भन्ने जनचासोको विषय बनेको छ । एमालेबाट संविधानसभा सदस्य अनन्त पौडेलदेखि ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलपनि मेयरको आकांक्षी छन् । एमालेका पाँच नेताले उपमहानगरको कुर्सीमा आँखा लगाएको पाइएको छ । वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य पौडेल, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ र ४ नम्बर वडा अध्यक्ष सिग्देलले मेयर हुने इच्छा देखाएको पार्टी वृतमा चर्चा छ ।
संविधानसभा सदस्य तथा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेलले मेयर हुने इच्छा देखाएको चर्चा छ । पौडेल संविधानसभा सदस्यहरु मिलेर गठन गरिएको संस्था संविधानसभा सदस्य परिषद् संयोजक हुन् । उनले हेटौंडामा विकास निर्माणका ठूला÷साना आयोजना, जनताका आवश्यकता, अपेक्षा पूरा गर्ने भन्दै आश्वासन बाँड्न थालिसकेको चर्चा छ । एक एमाले जिल्ला सदस्यका अनुसार पौडेलले पहिल्यैदेखि मेयर हुने तीव्र इच्छा बोकेका छन् । दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा उनले माओवादी उम्मेदवारलाई पराजित गरेका थिए ।
मेयर महत पुनः चुनाव लड्ने उनको सचिवालयले जानकारी दिएको छ । मेयरको दौडमा जिसस प्रमुख खुलाल छन् । पौडेल र खुलाल एमालेभित्र ओली समूहका पुरानो अनुहार हुन् । मेयरका आकांक्षी महत, पौडेल र खुलाल आन्तरिकरुपमा आफूनिकट नेताहरुसँग लबिङ गरिरहेका छन् । अघिल्लो निर्वाचनमा गठबन्धनलाई पराजित गरेका कारण पनि एमालेमा मेयरका लागि धेरै आकांक्षी हुने आकंलन छ । तर, ठूला नेताहरुले नै मेयरमा दाबी गर्न थालेपछि भने अन्यलाई बोल्न समस्या भएको बुझिन्छ । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धन भए महतलाई नै टिकट दिनुपर्ने आवाज कतिपयले पार्टीभित्र उठाइरहेका छन् ।
एमालेलाई टक्कर दिने नेपाली कांग्रेसबाट तीन जना मेयरका आकांक्षी छन् । कांग्रेस मकवानपुरका पूर्वसचिव तथा गत स्थानीयतह निर्वाचनमा मेयर प्रत्याशी आनन्दराम पराजुली
मेयरका बलियो आकांक्षी हुन् । १४ औं जिल्ला अधिवेशनमा सभापतिमा त्रिपक्षीय भिडन्त हुँदा दोस्रो भएका पराजुलीलाई मेयरको टिकट दिने आश्वासन नेताहरुले दिएको चर्चा छ । नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रभातकुमार दाहाल पनि हेटौंडाको मेयरका दाबेदार हुन् । पार्टीमा प्रकाशमान सिंह पक्षधर दाहालले आफू मेयरको उम्मेदवार बन्ने बताउँदै आएका छन् । दाहाल नेपाल विद्यार्थी संघका केन्द्रीय निवर्तमान महामन्त्री हुन् ।
अघिल्लो निर्वाचनमा मेयरको चुनाव लडेका कांग्रेसका वर्तमान सचिव भीमसेन महत पनि मेयरका आकांक्षी हुन् । अघिल्लो निर्वाचनमा नेकपा मालेबाट मेयरमा लडेका महतले तीनसय १५ मत ल्याएका थिए । निर्वाचनलगत्तै माले छोडेर कांग्रेस प्रवेश गरेका महत पुनः मेयरमा दाबी गरिरहेका छन् । उनले आफू मेयरको बलियो दाबेदार भएको बताए । ‘म मेयरमा चुनाव लडेर अनुभव लिइसकेको व्यक्ति हुँ । एकपटक फेरि मेयरमा उठ्छु र जित्छु’, महतले भने ।हेटौंडामा तेस्रो शक्तिको रुपमा रहेको नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य प्रल्हाद लामिछाने मेयरमा आकांक्षी देखिएका छन् । एकीकृत समाजवादीबाट हेटौंडा उपमहानगरकी उपमेयर मिनाकुमारी लामा हेटौंडाको पहिलो महिला मेयर बन्ने दौडमा छिन् । एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष श्रीधर पोख्रेल पनि मेयरका आकांक्षी हुन् ।
उनले पनि मेयरमा चुनाव लड्ने निकटस्थहरुसँग बताएका छन् ।
२०७४ को निर्वाचनमा एमालेपछि राप्रपालाई दोस्रो ठूलो शक्तिका रुपमा हेरिन्थ्यो । तर, मतपरिणामले राप्रपालाई चौथो शक्तिमा पु¥यायो । राप्रपाबाट युवा नेता भृगु कार्की मेयरका आकांक्षी हुन् । उनले पार्टीभित्र आफू मेयरमा उठ्ने बताइसकेका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा राकेश शर्मालेपनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।







