मकवानपुरगढीलाई बालमैत्री घोषणा गर्न स्वीकृती माग
हेटौंडा- १२ चैतमा बालमैत्री स्थानीय शासन अबलम्ब घोषणा गर्ने तयारी गरेको मकवानपुरगढी गाउँपालिकाले स्वीकृतीका लागि माग गरेको छ ।गाउँपालिकाले बागमती प्रदेश सरकारसमक्ष जिल्ला समन्वय समिति मकवानपुरमार्फत् बालमैत्री स्थानीयतह घोषणाका लागि स्वीकृति मागेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पुडासैनीले जानकारी दिए । गाउँपालिकाले २७ फागुनमा आठ वटै वडाहरुलाई बालमैत्री घोषणा गरिसकेको छ । गाउँपालिका अध्यक्ष बिदूर हुमागाईले जिसस प्रमुख रघुनाथ खुलाललाई गाउँपालिकाले बालमैत्री घोषणामा अगाडि बढेकाले प्रदेश सरकारलाई स्वीकृतिका लागि सिफारिस गर्न आग्रह गरेका हुन् ।
गाउँपालिका अध्यक्ष हुमागाईंले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्यविधि २०६८ र घोषणा कार्यविधि २०७० र बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम आवश्यक ५१ वटा सूचकमध्ये ४० वटा सूचक शत्प्रतिशत र ११ वटा सूचक ८० देखि ९७ दशमलव ९७ प्रतिशतसम्म पूरा भएको जानकारी दिएका थिए । जिसस उपप्रमुख भगवती पुडासैनीको नेतृत्वमा ५ सदस्य अनुगमन समिति गठन गरेर गाउँपालिकाको अनुगमन गरिने भएको छ । अनुगमनपश्चात् प्रदेश सरकारलाई समितिले सिफारिस गर्नेछ ।
गाउँपालिकाले पाँचवर्षे रणनीतिक योजना बनाएर आगामी १२ चैतमा बालमैत्री घोषणा गर्ने तयारी गरेको हो । मकवानपुरगढी मकवानपुरमा बालमैत्री घोषाणा हुने तेस्रो गाउँपालिका हुनेछ । यसअघि मनहरी र बकैया बालमैत्री घोषणा भइसकेका छन् ।







