मकवानपुर जिल्लामा बढ्यो अफिम खेती
हेटौंडा- मकवानपुर प्रहरीले तीन दिन यता अवैध लागू औषध अफिम खेती फँडानीलाई तीव्रता दिएको छ ।अवैध गाँजा उत्पादनले ग्रस्त बनेको मकवानपुरका विकट भेगमा अफिम खेती मौलाएसँगै तनाव झेल्दै आएको प्रहरीले अफिम फँडानी अभियानलाई तीव्र पारेको हो । प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्युरो काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्यालयबाट संयुक्तरुपमा खटेको प्रहरी टोलीले तीन दिनमा एकसय ६४ विगाह क्षेत्रफलमा लगाइएको अवैध अफिम खेती फँडानी गरेर नष्ट गरेको हो ।
प्रहरीले बुधबारमात्रै मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार
राक्सिराङ–४, ५, ७, ८, ९ र कैलाश गाउँपालिका–४, ७, ८ लगायत वडामा ९० विगाह क्षेत्रफलमा लगाइएको अवैध लागूऔषध अफिम खेती फँडानी गरी नष्ट गरेको हो । प्रहरीले मंगलबार ३५ विगाहमा लगाइएको अफिम खेती नष्ट गरेको थियो ।
प्रहरीले राक्सिराङ गाउँपालिका–४ अन्तर्गत् चौकीटार, मादलसिंह, कैलाश–४ अन्तर्गत् बिलौनी, कैलाश–७ अन्तर्गत् बिलासी, ताम्लाङ र कैलाश–८ अन्तर्गत् रुपलाङ, डुडलुङलगायत क्षेत्रमा ३५ विगाह क्षेत्रफलमा लगाइएको अवैध लागूऔषध अफिम खेती नष्ट गरेको थियो । सोमबार पनि प्रहरीले ३९ विगाह क्षेत्रफलको अफिम नष्ट गरेको थियो । प्रहरीले राक्सिराङ–४ को मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा, ५ नम्बर वडाको बमकिङ, लाफरलगायत क्षेत्रमा २८ बिगाह क्षेत्रफलको अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।
सोमबार नै मकवानपुरको बकैया गाउँपालिका–६ को ज्यामिरे, मोरड्डेढापलगायत क्षेत्रमा ११ विगाह अवैध लागूऔषध अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्याड्ढअनुसार प्रहरीले पछिल्लो तीन वर्षयता जिल्लामा तीनसय ३३ विगाह ३६ कठ्ठामा लगाइएको अफिम खेती नष्ट गरेको छ । प्रहरीले आर्थिक वर्ष ०७६÷७७ मा ८९ विगाह ११ कठ्ठा, आव ०७७÷७८ मा ४१ बिगाह ११ कठ्ठा र ०७८÷७९ मा दुईसय ७ विगाह १४ कठ्ठा जग्गामा लगाएको अफिम खेती नष्ट गरेको छ । करिब ३ वर्ष अघिसम्म गाँजाले जरो गाडेको मकवानपुरको विकटमा अफिम खेती शून्यजस्तै थियो ।
सीमित व्यक्तिहरुले कहिँ कतै लगाए पनि व्यावसायिकरुपमा यसको उत्पादन भएको पाइँदैनथ्यो । तर, पछिल्लो ३ वर्षयता यसको उत्पादनमा बृद्धि भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ३ वर्षयता ८ जना अफिम ओसारपसार गर्ने क्रममा पक्राउ परेका छन् । प्रहरीले आर्थिक वर्ष ०७६÷७७ मा ७ किलो २५० ग्राम अफिमसहित ३ जना, ०७७÷७८ मा १४ किलो ७५० ग्रामसहित ३ जना र चालु आवको माघसम्ममा ७ किलो ७ सय ग्राम अफिमसहित दुईजनालाई पक्राउ गरेको छ ।
गाँजा उत्पादन र ओसारपसार गर्न अग्रभागमा रहँदै आएको मकवानपुर राक्सिराङ, कैलाश र बकैया गाउँपालिकामा पछिल्लो समय अफिम खेती मौलाउँदै गएको छ । अफिमको मूल्य महँगो र ढुवानी सहज हुने भएकाले लागूऔषध तस्करको उक्साहटमा मकवानपुरको राक्सिराङ र कैलाशका अधिकांश भागमा अफिम खेती मौलाएको हो । प्रहरीले दैनिकजसो अभियान नै चलाएर अफिम खेती नष्ट गरेपनि यसको संख्या दिनानुदिन बढ्दै गएको छ । सरकारले गाँजालाई वैद्यानिकता दिने प्रयास गरिरहँदा २÷३ वर्षदेखि सुरु अफिम खेतीले गाँजालाई विस्थापित गर्ने अवस्थामा पुगिसकेको छ ।







