एउटै गाउँमा एक हजार तरकारी टनेल
हेटौंडा- राज्य पुर्नःसंरचनापश्चात् स्थानीय तह बन्नु अगाडि मकवानपुरगढी गाउँपालिकाभित्र रहेका तरकारी टनेलको संख्या औंलामा गन्न सकिन्थ्यो ।पालिकाको कृषि विकास शाखाका अनुसार साविकको आमभञ्ज्याङ, गढी, बुढीचौर र सुकौरामा गरेर ५० वटा हराहारीमा तरकारी टनेल थिए । तर, स्थानीय तह भएपछि यी चारै गाविस मिलेर बनेको मकवानपुरगढी गाउँपालिकाको करिब ५ वर्षको अवधिमा तरकारी टनेल एक हजार छन् । पालिका अध्यक्ष बिदुर हुमागाईंले किसान लक्षित योजना कार्यान्वयन गरेपछि गढीभित्र एक हजारको संख्यामा तरकारी टनेल छन् । पालिकाभित्रका किसानहरु स्वरोजगार बन्ने उद्देश्यले आफ्नै खेतबारीमा तरकारी फलाएर मनग्य कमाउने ध्याउन्नमा लागेको तथ्यांकले पुष्टि गर्छ । मकवानपुरगढीका किसानहरु मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेका छन् ।
चिसो मौसम भएको पालिकाको ८ नम्बर वडास्थित बुढीचौरका किसान धेरै तरकारी उत्पादनमा छन् । गत आर्थिक वर्ष २०७७÷७८ को तथ्यांक अनुसार पालिकाभित्रका ८ वटा वडामा गरेर ९ सय ७ वटा तरकारी टनेल थिए । चालू आव २०७८÷०७९ को फागुन मसान्तसम्म करिब एकसय तरकारी टनेल थपिएको गाउँपालिकाको आड्ढलन छ । ‘गत आवमै ९ सय बढी तरकारी टनेल थिए । यो आसको फागुनसम्म एकिन तथ्याड्ढ नआए पनि एक हजार पुगेको हाम्रो अनुमान छ’, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले भने ।
गाउँबासीलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत् पालिकाले कृषि बालिमा अनुदानदेखि स्थानीय उपजहरुको बजार मूल्य तोक्नेसम्मको काम गरेपछि टनेल खेतीमा कृषकहरु आकर्षण भएको गाउँपालिका अध्यक्ष हुमागाईं बताउँछन् । उनले आफ्नै खेतबारीमा बगाएको पसिनाको कमाईले दीर्घकालीन प्रभाव पार्ने भएकाले तरकारी खेतीमा किसानहरुलाई सुरुदेखि नै आकर्षित गराउने काम गरिएको बताए । ‘अस्थायी प्रकृतिको जागिर खाएर के उन्नति हुन्छ ? कमाई कृषि पेशामा छ । तरकारी खेती र पशुपालनबाटै मनग्य आम्दानी गर्न सकिन्छ । हामीले अभियान नै चलाएका थियौं । अहिले एक हजार बढीले व्यवसायिक तरकारी खेती गरेर कमाई गर्नुहुन्छ’, अध्यक्ष हुमागाईं भन्छन् ।
गाउँपालिकाको झण्डै ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमैसमी तरकारी बालि लगाइएको छ । गाउँपालिकामा प्लाष्टिक घरभित्र गोलभेडा लगायतका तरकारी खेतीको आकर्षण बढेको छ । तरकारी टनेल खेती व्यवसायबाट ५० हजारदेखि ५ लाख रुपैयाँसम्म किसानले आयआर्जन गर्ने गरेको कृषि शााखा प्रमुख चौधरीले जानकारी दिए । जग्गा कम भएका किसानहरुले अन्यन्त्र ठाउँमा पनि खेती गर्ने गरेका छन् । वैदेशिक रोजगारबाट फर्केका युवाहरु पनि टनेल तरकारी खेतीमा लागेका छन् ।
कृषि शाखाका अनुसार एक हजार तरकारी टनेलमध्ये स्थायी प्रकृतिका फलामे टनेल छन् भने कतिपय अस्थायी प्रकारका टनेल छन् । वडा नम्बर ८ बुढीचौरमा ३ सय ५३ वटा, २ नम्बर वडामा १ सय ९९ वटा प्लास्टिकको घरभित्र टनेल तरकारी खेती गरिएको कृषि शाखा प्रमुख चौधरीले बताए । १ नम्बर वडामा सबै भन्दा कम २७ वटा टनेल घरमा तरकारी खेती गरिएको छ । ९५ प्रतिशत प्लास्टिक घरहरु गोलभेडा खेतीको लागि प्रयोग भएका छन् ।
गोलभेडासँगै अकबरे खुर्सानी, मुला, काउली, बन्दा लगायतका तरकारी उत्पादन भएका छन् । वार्षिकरुपमा करिब प्रतिवर्ग मिटर सरदर १० किलोको दरले ८ लाख १६ हजार २ सय ७० किलो उत्पादन हुने चौधरीले जानकारी दिए । यसबाट प्रतिवर्गमीटर कुल आम्दानी सरदर ४ सय हुन आउने उनको भनाइ छ । गाउँपालिकाले करिब ३२ करोड ६५ लाख आम्दानी गरेको छ । तुलनात्मकरुपमा अन्य तरकारीको तुलनामा गोलभेडा खेतिबाट सन्तोषजनक आम्दानी भैरहेको वडा नम्बर ७ मा कृषक राजकुमार दोङले बताए । गोलभेडा बाहेक मौसमअनुसारका अन्य तरकारीहरुबाट पनि उत्पादन र आम्दानी भइरहेको छ । गाउँपालिकामा उत्पादन भएका तरकारी लगायतका कृषि उपजहरुलाई बजारीकरणको समस्या भने नरहेको कृषकहरुको भनाइ छ ।
गाउँपालिकाले नै उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्थापन मिलाएको छ । २ नम्बर वडास्थित एक सहकारीसँगको सहकार्यमा हेटौंडामा बजारमा पसल सञ्चालन गरेर गाउँपालिकाले बजारीकरणको व्यवस्था मिलाएको चौधरी बताउँछन् । ‘दैनिक पलायन हुँदै आएको युवा शक्तिलाई आफ्नो भूमिमा रमाएर कृषिमा समृद्धि ल्याउने सुनौलो सपना थियो’, अध्यक्ष हुमागाईंले भने । तरकारी उत्पादन गर्ने र बढी आयआर्जन गर्ने बाली पद्धति नै बेमौसमी तरकारी उत्पादन प्रविधिमा कृषकलाई आकर्षण गर्न पालिका सफल भएको चौधरीले बताए ।







