वडा अध्यक्षको कुर्सी सडकमा
हेटौंडा-कार्यालयमा बसेर काम नगरेको भन्दै हेटौंडा–८ का वडा अध्यक्षको कुर्सी सडकमा ल्याएर बिरोध गरिएको छ ।वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठ कार्यालयमा नबसेर सेवाग्राहीको बेवास्ता गरेको भन्दै उनी बस्ने कुर्सी सडकमा ल्याएर प्रदर्शनी गरिएको हो । सत्ता गठबन्धनमा रहेका दलहरुको नेतृत्वमा स्थानीय युवाहरुले वडा अध्यक्ष बस्ने कुर्सी सडकमा ल्याएर विरोध गर्नुको साथै वडा कार्यालयमा तालाबन्दी पनि गरेको जनाइएको छ । वडा अध्यक्ष श्रेष्ठले सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिएवापत एमालेको सदस्यता लिनुपर्ने सर्त राख्ने जस्ता गतिविधि गरेकाले बाध्य भएर आन्दोलित बनेको नेपाली कांग्रेस हेटौंडा–८ का सभापति भुपेन्द्र कोइरालाले जानकारी दिए ।
‘वडा अध्यक्षले गर्नुपर्ने काम नगरेर जनतालाई दुःख दिएको हुनाले हामीले यस्तो गरेको हो’, उनले भने । यसअघि नै पदीय मर्यादा कायम राखेर काम गर्न र पक्षपात नगर्न सुझाव दिएपनि अटेर गरेकोले आन्दोलनमा उत्रिएको उनको भनाइ छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका पार्टीका नेता कार्यकर्ताहरुले श्रेष्ठले व्यवहार सुधार नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।







