मुआब्जामा विवादले निर्माणमा ढिलाई
हेटौं- हेटौंडालाई काठमाडौसँग जोड्ने छटो दूरीको मार्गअन्तर्गत् भीमफेदी गाउँपालिकाको भैंसेदेखि भीमफेदीसम्म सडक निर्माणको काम २६ प्रतिशत मात्रै सकिएको छ ।मुआब्जा विवादले गर्दा सडक निर्माणको काम अगाडि बढाउन ढिलाई भइरहेको जनाइएको छ । सडक निर्माण कार्यमा अहिले कटिङ गर्ने काम भइरहेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका सूचना अधिकारी इन्जिनियर हरि ओझाले जानकारी दिए । ११ दशमलव ५ किलोमिटर सडकलाई दश मिटर चौडा बनाउने र कालोपत्रे गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । सडक निर्माण क्षेत्रमा पर्ने भीमफेदी गाउँपालिकाको वडा नम्बर–२, ४ र ६ नम्वरमा गरी ४३ घरका टहरा तथा अरु संरचनामा सडक सिमामा पर्छ ।
उनीहरुका लागि मुआब्जामा कुरा नमिल्दा सडक निर्माणमा समस्या भएको ओझाको भनाई छ । बागमती प्रदेश सरकारले जग्गाको मुआव्जा नदिने तर, सडक सिमामा परेका घर, टहरा लगायतका संरचनाको मुआब्जा दिने बताएको भएपनि स्थानीयले जग्गाको पनि मुआब्जा माग गरेका छन् । जसले गर्दा सडक निर्माण कार्यमा ढिलाई हुँदै आएको छ । २०७९ साल असार २३ गते सम्म सडक निर्माणको काम सक्नुपर्ने भएपनि स्थानीय मुआब्जाको विवादको कारण सडक निर्माण कार्यमा ढिलाई भइरहेको उनको भनाइ छ ।







