वडा अध्यक्षहरुको दबाबपछि अलपत्र सडक निर्माण गर्ने प्रतिबद्धता
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाभित्र हुप्रचौर, टिसिएन रोड र नगरपालिका रोडमा अलपत्र बनेको सडक निर्माण कार्य सुरुवात हुने भएको छ ।वडा अध्यक्षहरुले अलपत्र सडक निर्माण गर्न निर्माण कम्पनीलाई दबाब दिएपछि उनीहरुले काम तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनप्रतिनिधिहरुलाई अटेर गरी काम नगर्ने निर्माण कम्पनीहरुलाई हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, वडा नम्बर १० का वडाअध्यक्ष कितापसिं लामा, वडा नम्वर २ का जनप्रतिनिधिसहितको टोलीले सचेत गराएको हो । निर्माण कम्पनी सप्तकोशी जलाधार र यातायात पूर्वाधार निर्देशानलय हेटौंडाका प्रमुख तथा प्रतिनिधिबीच चैत ६ गतेबाट निर्माण सुरु गरेर १५ वैशाखभित्र सक्काउने सहमति बनेको जनाइएको छ ।
जनप्रतिनिधिसहितको टोलीले अलपत्र सडक निर्माण बारे निर्माण कम्पनीलाई छिटो काम सक्न दबाब दिएका छन् । हेटौंडाको २, ४ र १० नम्बर वडाका वडा अध्यक्षको समूहले यसअघि पनि पटक–पटक सडक निर्माण अलपत्र पारेको भन्दै ध्यानाकर्षण गराउँदै आएको थियो । उनीहरुले नगरभित्रकै सडक निर्माण अलपत्र पारेर वडाबासीलाई दुःख दिने काम निर्माण कम्पनीबाट भएको भन्दै
कारबाहीको मागपनि गरेका थिए । निर्माण कम्पनीले ठेक्का लिने र काम नगर्ने समस्याबाट सर्वसाधारणले मात्र नभई जनप्रतिनिधिहरुले नै दुःख पाइरहेका छन् ।
छलफलमा बोल्दै हेटौंडा ४ का वडाअध्यक्ष सिग्देलले जनतालाई दुःख दिएर निर्माण कम्पनी बस्नु दुःखद् भएको बताए । छलफलमा बोल्दै निर्देशानलयका निमित्त निर्शेक सहदेब भण्डारीले अब निर्माण कम्पनीले तोकेको समयमा काम गर्नेमा विश्वस्त रहेको र नियमित अनुगमन गरिने बताए । सप्तकोशी जलाधार हेटौंडाका फिल्ड प्रमुख चन्द्रनारायण यादबले चैत ६ गतेबाट नियमित काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हेटौडा–४ हुप्रको करिब ४ किमि सडक कालोपत्रे गर्ने, पेटी ढल निर्माण गर्ने, १० नम्बर वडाको टिसिएन रोड, २ नम्बर वडाको मानस चोकदेखि मनकामना चोक र बनस्खण्डी सडक कालोपत्रे गर्न यातायात पूर्वाधार निर्देशनालय हेटौंडासँग निर्माण कम्पनीले २ मंसिरमा काम सक्काउने गरी सम्झौता गरेको वडा अध्यक्ष सिग्देलले जानकारी दिए ।







