अझै भत्किएनन् शहरका ‘छाउकोठा’
हेटौंडा – पहिलो पटक महिनावारी हुँदा हेटौंडा उपमहानगरपालिका–१२ की १४ वर्षीया सविनाले घर नै छाड्नुपर्छ भन्ने कुरा कल्पना गरेकी थिइनन् । घरमा आमा र दिदीहरुबाट महिनावारीबारे केही कुरा सुनेकी त थिइन् तर, यो प्राकृतिक प्रकृया सुरु हुँदा उनले घर नै छाड्नुप¥यो ।पूर्वकिशोरावस्थामा बालसुलभता हटिसकेकै हुँदैन । त्यसैले घरकी कान्छी छोरी सविना बुवा र भाइसँग नजिकिन्छिन् । कोरानाले स्कूल बन्द भएको बेलादेखि उनको दैनिकी भाइसँग खेलेर र घरको काम गरेरै बित्दै आएको थियो । महिनावारी भएपछि भने उनी भाइसँग मात्रै होइन, घरबाटै टाढा भइन् । घर र आमा छोडेर एकदिन पनि कतै नगएकी उनले महिनावारी भएपछि अर्काको घरमा गएर लुक्नुप¥यो । पहिलोपटक महिनावारी भएपछि आफ्नै बुवा र भाइसँग लुक्न ५ दिनसम्म सविना अर्काको घरमा बसिन् । उनी बसेको घर उनको आफ्नो घरबाट टाढा थिएन । तर, नजिक भएपनि उनलाई आफ्नै घर नजिक लागेन ।
हेटौंडा–७ की श्रीजनालाई जुन घरमा लुक्न पठाइएको थियो, त्यहाँ एकजना पुरुष आफ्नो छोरासँग बस्थे । दिन कटाउन भने उनलाई निकै मुस्किल थियो । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा विकसित भनिएका हेटौंडाजस्ता विभिन्न सहरमा अदृश्यरुपमा छाउप्रथाले निरन्तरता पाइरहेको छ ।‘पहिलो पटक महिनावारी हुँदा घरमा बस्नु हुँदैन, अर्काको घरमा लुक्न जाऊ भनेर आमाले कहिल्यै भनेनन् । न त घाम नै हेर्नु हुँदैन भने’, श्रीजनाले सुनाइन् । आमाले नै उनलाई यी सबैकुरा गर्न सिकाइरहेकी थिइन् । ‘घरि बेस्सरी पेट दुख्थ्यो, घरि हराउँथ्यो । पेट दुख्दा एउटा कुनामा एक्लै सुतिरहनुपथ्र्यो’, उनले भनिन् । उनलाई सबैभन्दा धेरै दुःख त त्यतिबेला लाग्यो, जब उनले महिनावारी भएको बेलामा छोएको तरकारी तथा फलफूल कुहिन्छ भनेको सुनिन् । ‘स्कूलमा पनि मैले महिनावारीको बारेमा पढेको थिएँ । तर, महिनावारी हुँदा छोएको तरकारी तथा फलफूलको बोट नै कुहिन्छ भन्ने कुरा कुनै किताबमा पढेकी थिइँन’, श्रीजनाले भनिन् । हेटौंडा–११ की ममताको पनि उस्तै अनुभव छ । उनी पनि भर्खरै मात्रै पहिलोपटक महिनावारी भएकी हुन् । ममताले पनि महिनावारी हुँदा आफ्नो घरमा बस्न पाइनन् ।
उनले पनि घरमा भएका पुरुषलाई अनुहार देखाउन नहुने भन्दै १० दिनसम्म आफन्तको घरमा लुक्न जानुपरेको सुनाइन् । सविना, श्रीजना र ममता प्रतिनिधि पात्र मात्रै हुन् । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा विकसित भनिएका हेटौंडाजस्ता विभिन्न सहरमा अदृश्यरुपमा छाउप्रथाले निरन्तरता पाइरहेको छ । महिनावारी हुने कुरालाई सामान्य रुपमा लिएर छाउप्रथालाई महिला आफैँले छोड्न सकिरहेका छैनन् ।विभिन्न विकट गाउँमा रहेको छाउगोठ भत्काउन वर्षेनि अभियान सञ्चालन गरिन्छ । तर, शहरमै रहेको यस्ता छाउकोठा भत्काउन भने हालसम्म कुनै पहल भएको छैन । प्रत्येकपटक महिनावारी हुँदा ५ दिनसम्म घरमा छुट्टै बस्नुपर्ने बाध्यता त छँदैछ, झन् पहिलोपटक महिनावारी हुँदा अर्काको घरमा गएर लुक्नुपर्ने प्रचलनले विकट गाउँतिर भत्किँदै आएको छाउगोठ प्रथालाई सहरले निरन्तरता दिइरहेको छ ।
हेटौंडा उपमहानगरकी उपप्रमुख मिनाकुमारी लामाले हेटौंडामा छाउगोठको पूर्णरुपमा उन्मुलन नभएपनि विगतमा भन्दा कमी भएको बताइन् । छाउगोठमा बस्ने चलन क्रमिकरुपमा घट्दै गएपनि जनचेतनाका कार्यक्रमले असर गरेको उनको भनाइ छ । ‘छाउगोठमा बस्ने क्रम ठप्पै रोक्न सजिलो छैन् । यसका लागि मानिसमा जनचेतना हुनुपर्छ । उपमहानगरले सचेतनाका कार्यक्रम गरेपनि पूर्णरुपमा यसको अन्त्य भने हुन सकेको छैन् । जनचेतनालाई निरन्तरता दिइरहनुपर्छ नियन्त्रणमा आउँछ’, लामाले भनिन् । उनले वर्तमान समयमा सहरतिर गाउँमा जस्तो गोठमा नै बस्नुपर्ने बाध्यता नभएपनि छाउगोठको स्वरुप
परिवर्तन भएर छाउकोठा बनेको बताइन् । सुदूरपश्चिम र कर्णाली प्रदेश क्षेत्रमा महिनावारी भएका बेला छाउगोठमा बस्नु डरलाग्दो हुन्छ ।
छाउगोठमै निस्सासिएर, सर्पले टोकेर, जाडोले कठ्यांग्रिएर वा बिरामी भएर मृत्यु भएका घटना धेरै छन् । मकवानपुरमा सुदूरपश्चिम र कर्णालीको जस्तो छाउगोठमा नपठाए पनि आफन्तका घरमा पठाइन्छ । त्यसैले मकवानपुरमा विकट गाउँको जस्तो छाउगोठमा बस्नुपर्ने बाध्यता नभएपनि पहिलोपटक महिनावारी हुँदा कोठामा लुक्नुपर्ने, महिनावारी हुँदा प्रत्येक महिना ५ दिनसम्म अलग्गै बस्नुपर्नेले छाउगोठको रुपान्तरित स्वरुप अर्थात् छाउकोठाको रुप लिइरहेको छ ।
कतिपय अवस्थामा छाउकोठालाई वर्तमान समयमा शिक्षित महिलाहरुले नै प्रश्रय दिइरहेको पाउन सकिन्छ । मकवानपुरमा छाउगोठ बस्दा मानवीय क्षति नभए पनि मानसिक रुपमा असर पुग्ने चिकित्सकहरु बताउँछन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १६८ (३) अनुसार महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउ पडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु कानुन विपरित हुन्छ ।







