लागू औषध गाँजा अफिम खेती नष्ट प्रकरण
कानूनले बञ्चित गरिएका काम गरिए अपराध हुन्छ । अपराध गरेमा कानूनले तोकेअनुसार सजाय भोग्नुपर्ने हुन्छ । एकपटक अपराध गरेपछि कानूनले तोकेअनुसार सजाय भोग्नुपर्ने बाध्यता परेपछि मानिसहरुले दोहो¥याएर अपराध गर्ने आँट र साहस गर्दैनन् भन्ने मान्यता राखिन्छ । तर, घरिघरि अपराध गरिरहने र पनि दोहो¥याइरहने भन्ने कमै अवस्थामा पाइन्छ । तर, मकवानपुर जिल्लाको विकट गाउँपालिकाहरुमा हुने गरेको अवैध लागूऔषध गाँजा तथा अफिम खेतीको विषयमा भने फरक खालको अवस्था पाइएको छ । गाउँलेले अवैध भनिएको गाँजा र अफिम खेती गरिरहन्छन् । प्रहरीले बेलाबेलामा गएर ती गाँजा र अफिम खेतीलाई नष्ट गर्दै आएको छ । हरेक वर्ष गाँजा र अफिमको ब्याड र बयश्क बिरुवा फँडानी गरेर आगो लगाएर नष्ट पनि गरिरहेको छ । ओसारपसार र बिक्री वितरणमा संलग्न भएका सयौंलाई जेल चलान पनि गरिरहेको छ । उनीहरुले जेलमा नारकीय जीवन बिताइरहेका पनि छन् । तैपनि हरेक वर्ष गाँजा र अफिम खेती हुन छाडेको छैन ।
प्रहरीले तीन वर्षयता मकवानपुर जिल्लामा तीनसय ३४ विगाह १६ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ । सरकारले अवैध लागूऔषध खेती नियन्त्रणमा पहल गरिरहेता पनि जिल्लाको राक्सिराड्ड, कैलाश र बकैया गाउँपालिकाका क्षेत्रहरुमा पछिल्लो समय अफिम खेती फस्टाइरहेको खबरले सरकारले लागूऔषध खेती नियन्त्रण अभियानमा खर्चिएको करोडौं बजेट निरर्थक भएको भान हुन्छ । हरेक वर्ष गाँजा र अफिम नष्ट गरेको समाचार पढ्न पाइन्छ । धेरै ठूलो क्षेत्रफलमा लागूऔषध नष्ट गरेको समाचार आइरहँदा वास्तविक दोषी पक्राउ परेको र कारबाही भएको समाचार भने कमै सुन्न र पढ्न पाइन्छ ।
सरकारले अवैध लागूऔषध खेती नियन्त्रणमा अभियान सञ्चालन गरिरहने तर, त्यसको मात्रा न्यूनीकरण नहुनुले ‘काग गराउँदैछ, पिना सुक्दैछ’ भन्ने उखान चरितार्थ भएको अनुभव सहजै गर्न सकिन्छ । सरकारले अवैध लागूऔषध खेती नष्ट अभियान सञ्चालन गरेसंगै आगामी वर्षदेखि खेती नगर्ने वातावरण बनाउन सक्नु महत्वपूर्ण हुन्छ । लागू औषध खेतीको सट्टा अन्य आयआर्जनका उपायहरु किसानलाई दिनुपर्छ । किसानले उत्पादन गरेका कृषिउपजको सहज बजार बनाउन सक्नुपर्छ र गाँजा, अफिम खेतीको विकल्पमा अन्य कृषि उत्पादन बढाउन सरकारले लगानी नबढाउने हो भने यो अभियान उपलब्धिहीन हुने पक्का छ ।







