एकै वडाका ७२ ज्येष्ठ नागरिक सम्मानित
हेटौंडा- भीमफेदी गाउँपालिकाको एउटै वडाको ७२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।भीमफेदी गाउँपालिका–५ सुपिङका ७२ जना ज्येष्ठ नागरिकलाई सुरक्षास्वर महादेव खैजडी भजन समूहले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट सम्मान गरेको हो । समूहले ज्येष्ठ नागरिकहरुलाई भोजन गराउनुको साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा भजन समूहका २१ जनालाई पनि सम्मान गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले ज्येष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताइन् । ज्येष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइको रुपमा लिनुपर्ने उनको भनाइ छ ।
उनले बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट ज्येष्ठ नागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै बृद्धबृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने विश्वास व्यक्त गरेकी छन् । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पछिल्लो समय छोरा बुहारीबाटै बृद्ध बाबुआमाहरु अपहेलित हुँदै आइरहेको अवस्थामा वृद्धबृद्धाहरुको सम्मानका लागि यस्ता कार्यक्रमहरुको आयोजना गरिएकोमा खुशी व्यक्त गरे । उनले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिँदै यस्ता कार्यको लागि गाउँपालिकाले पनि आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन् ।
आफूले अग्रजको सम्मान गर्न सकेमात्रै आफूलाई पनि सम्मान मिल्ने उनले बताए । सोही अवसरमा भीमफेदी ५ दमारस्थित बाराही आधारभूत निम्न माध्यमिक विद्यालयको लागि सहयोग रकम प्राप्त भएको छ । नेपाली कांग्रेस काठमाडौ कागेश्वरी मनहरा नगर समितिका पूर्वसभापति नवराज पुडासैनी र समाजसेवी सुदर्शन पुडासैनीले विद्यालयको लागि एकमुष्ट रुपमा एकलाख ५० हजार रुपियाँ नगद सहयोग उपलब्ध गराएका हुन् । उक्त सहयोग रकमबाट निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुले शिक्षा हासिल गर्न सक्ने भन्दै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तिलक रेग्मीले सहयोगी दाताप्रति आभार व्यक्त गरे । सुरक्षास्वर महादेव खैजडी भजन समूहका अध्यक्ष जनकराज पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी ५ का वडाअध्यक्ष जहारसिंह लामालगायतको आतिथ्यता थियो ।
नयाँ कार्यसमिति चयनसमूहको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । समूहको अध्यक्षमा बालचन्द्र दुलाल चयन भएका छन् भने उपाध्यक्षमा रामकृष्ण पुडासैनी, सचिवमा घननाथ पुडासैनी, कोषाध्यक्षमा चुडामणि पुडासैनी सर्वसम्मत चुनिए । सदस्यहरुमा छविलाल पुडासैनी, दामोदर पुडासैनी, कूलप्रसाद पुडासैनी, रामहरि महत, र भक्तबहादुर महत चयन भएका छन् । समूहको सल्लाहकारमा जनकराम पुडासैनी, गंगाप्रसाद पुडासैनी र ऋषिराम पुडासैनी चयन भए ।







