हेटौंडामा श्रीमतीको कुटाईबाट श्रीमान्को मृत्यु
हेटौंडा- मादक पदार्थ सेवन गरेपछि उत्पन्न विवादले कुटिपटको रूप लिँदा हेटौंडामा एक व्यक्तिको ज्यान गएको छ ।श्रीमतीको कुटाईबाट हेटौंडा उपमहानगरपालिका–३ जम्बोका ४३ वर्षीय मित्रलाल सुनारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार साँझ मादक पदार्थ सेवन गरेका सुनार दम्पतीबीच सामान्य विवाद हुँदा श्रीमती ४१ वर्षीया अनिता विक कुटपिटमा उत्रिएकी थिइन् ।
विकले घाँटीमा थिचेर कुटपिट गर्दा सुनार गम्भीर घाईते भएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार सुनारको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।घरायसी विवादका क्रममा कुटिपट भएको उपरीक्षक रिमालले जानकारी दिए । आरोपित विकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको रिमालले बताए ।







