बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

साझाकुरा
२०७८ चैत्र ९, बुधबार १२:३६

हेटौंडा- बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मंगलबारको प्रदेशसभा बैठकमा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको बताएका हुन् । सदनमा सांसदको गणपूरक संख्या नपुग्दा ४० मिनेट ढिला गरी सुरु भएको बैठक १८ मिनेटमात्रै बसेर स्थगित भएको थियो । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले पेस गरेको ३ वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल गरी त्यसको दफावार छलफलका लागि समितिमा पठाउन स्वीकृीि प्रदान गरेको हो ।

बैठकमा सत्तापक्ष नेकपा माओवादी केन्द्रका जगत सिम्खडा, रामकाजी महर्जन, नेपाली काँग्रेसका नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, प्रतिपक्ष दल विवेकशील साझा पार्टीका रमेश पौड्याल र शोभा शाक्यले आफ्नो धारणा राखेका थिए । बैठकमा माओवादी केन्द्रका सांसद सिम्खडाले धादिङ र नुवाकोट जोड्ने पुल अलपत्र पारिएको बारेमा सरकारका ध्यानाकर्षण गराएका थिए । उनले सडक पुलका योजनाहरूमा सरकारले बजेटमात्र खन्याएर नहुने त्यसलाई समयमा नै सम्पन्न गराउनतर्फ अघि बढ्नुपर्ने बताए । त्यस्तै काँग्रेसका वैद्यले २१ औँ शताब्दीमा पनि कागजको मत पत्र प्रयोग गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै इलेक्ट्रिक मेसिनबाट भोट गर्ने व्यवस्था गर्न माग गरे ।

उनले कागजको मतपत्रमा सरकारले अर्बौँ रुपियाँ खर्च गरेकोले त्यसलाई रोकेर प्रविधिसँगै अघि बढ्न माग गरे । उनले इलेक्ट्रिक मेसिनको प्रयोग गरेर मतदान गर्ने व्यवस्था गरी सरकारले राज्यको भर कम गर्नुपर्ने बताए । इलेक्ट्रिक मेसिनको प्रयोगले मतदान विश्वसनीय हुनुको साथै मतगणनामा पनि छिटो र सरल हुने उनको भनाइ छ । त्यस्तै, प्रतिपक्ष दल विवेकशील साझा पार्टीका रमेश पौड्यालले पछिल्लो समय चुनाव महँगो बन्दै गएको बताए । उनले सामान्य मानिसले चुनाव लड्न नसक्ने अवस्था आएको भन्दै सरकारले यसको नियन्त्रणमा लाग्नुपर्ने बताए । चुनाव लड्ने उम्मेदबारले चुनाव प्रचारका क्रममा हरेक क्षेत्रमा खसी राँगा काटेर भोज गर्नुपर्ने अवस्थाले विकृति निम्तिएको धारणा व्यक्त गरे । विवेकशील साझाकी शोभा शाक्यले महँगीले आमजनताहरू आक्रान्त भएकाले महँगी नियन्त्रणतर्फ सरकारले पहल गर्नु पर्ने बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*