मकवानपुरमा फैलिँदै बर्डफ्लु, तीनसय ३० पन्छी र कुखुरा नष्ट
हेटौंडा – मकवानपुरमा बर्डफ्लु फैलिएको बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ ।बागमती प्रदेशका मकवानपुरसहित ६ जिल्लामा बर्डफ्लु फैलिएको मन्त्रालयले जनाएको हो । बर्डफ्लुबाट प्रदेशभर गरेर ५८ हजार दुईसय ६१ वटा पन्छी नष्ट गरिएको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये मकवानपुरमा ३ सय ३० वटा पन्छी र कुखुरा नष्ट गरिएको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए । ३ सय २६ वटा पन्छी र १४ वटा कुखुरा नष्ट गरिएको उनले बताए । थोरै पन्छी र कुखुरा नष्ट गरिए पनि बर्डफ्लु भने फैलिँदो क्रममा रहेकाले जोखिम पनि बढेको सचिव पाण्डेले बताएका छन् ।
भीमफेदी गाउँपालिका–२, आँपचौरकी लिला थिङ्ले पालेका कुखुरामा फागुन अन्तिममा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो । थिङले पालेका कुखुरा धमाधम मर्न थालेपछि काठमाडौंस्थित पशु रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु संक्रमण भएको पुष्टि भएको हो । मकवानपुरमा ३ वर्ष अगाडि बर्डफ्लु संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार हालसम्म प्रदेशको ६ वटा जिल्लामा बर्डफ्लु फैलिसकेको छ । बर्डफ्लु देखिएको स्थानको २२ हजार ३४ वटा अण्डा र ११ हजार चारसय ३९ किलो दाना नष्ट गरिएको मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए । हालसम्म काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो ।
पाण्डेका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब तीन करोड रुपियाँ बराबरको क्षति भएको अनुमान मन्त्रालयले गरेको छ । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा फैलिरहेको उनले बताए । पाण्डेले काठमाडौंको १९ हजार पाँचसय ६, भक्तपुरको २४ हजार तीनसय १९, चितवनको ९ हजार ६ सय ७०, ललितपुरको दुईहजार दुईसय ६२, सिन्धुपाल्चोकको दुईहजार एकसय ८८ र मकवानपुरको तीनसय १६ वटा पन्छी नष्ट गरिएको बताए । उनका अनुसार तीमध्ये ब्रोइलर कुखुरा ११ हजार ६ सय ५०, लेयर्स ३५ हजार ६ सय ४३, लोकल पाँचहजार तीनसय ४०, हाँस चार हजार चार सय ८१ र अन्य एक हजार एकसय ४७ वटा पन्छी छन् ।
सचिव पाण्डेले बर्डफ्लु रोगको समयमा नै नियन्त्रण गर्न मन्त्रालयले प्रदेश मातहतका निकायमा कार्यरत् पशु चिकित्सक तथा अन्य कर्मचारीलाई लामो बिदा नबस्न र जिल्ला नछाड्न पत्राचार गरिएको बताए । त्यस्तैगरी, संक्रमण फैलिन नदिन पन्छीहरुको आवतजावत नियमनको लागि प्रहरीसँग समन्वय गर्ने, बर्डफ्लू रोग नियन्त्रणका लागि आवश्यक जनशक्ति व्यवस्थापनको लागि छलफल भइरहेको, कृषकहरुलाई बर्डफ्लु रोगको छिटो सूचना प्रवाह गर्न टोल–फ्रि नम्बरको व्यवस्था प्रक्रिया अघि बढाइएको पाण्डेको भनाइ छ ।
त्यस्तै, बर्डफ्लु देखिएका स्थानमा नष्ट गरिएका पन्छीको क्षति भएवापतको रकमसमेत दिन मन्त्रालयले आवश्यक मापदण्ड तयार गरिरहेको पाण्डेले बताएका छन् । किसान तथा व्यावसायिकरुपमा पन्छी पालेर बसेकाहरुलाई आफूले पालेका पन्छीहरुमा बर्डफ्लु रोग लागेको शंका लागेमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट परीक्षणको व्यवस्था मिलाएको पनि मन्त्रालयले जनाएको छ । पन्छीहरुको ढुवानीमा समेत कडाई गर्ने र चेकजाँच गरेका व्यवसायीहरुको रिपोर्ट हेरेरमात्र ढुवानी गर्न दिने मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।







