हुप्रचौरमा बहुउद्देश्यीय भवन शिलान्यास
हेटौंडा- हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले हुप्रचौरमा निर्माण गर्ने भनिएको ११ गते बहुउद्देश्यीय भवनको शिलान्यास गरेका छन् ।हेटौंडा–४, हुप्रचौरको दक्षिणतर्फ बासुदेव सभागृह भत्काएर भ्यूटावरसहितको बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो । उपमहानगरको गौरबको योजनामा रहेको भवनको निर्माण लामा, रसुवा, बानियाँ जेभीले गर्ने भएको छ । केही समयअघि उपमहानगरपालिकासँग सम्झौता भएको थियो ।
११ तले भवनमा सबैभन्दा तल दुई तलाको अण्डर ग्राउण्ड पार्किङ, चारै दिशातर्फ लिफ्ट, दुई वटा भ¥याङ, सबैभन्दामाथि भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका योजना महाशाखाका प्रमुख सत्यनारायण साहले बताए । व्यापारिक भवनको सबैभन्दा माथि भ्यू टावरबाट हेटौंडा र आसपासको क्षेत्र दृश्यावलोकन गर्न सकिने जनाइएको छ । उक्त भवन तीन वर्षभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ।
शिलान्यासपछि बोल्दै मेयर महतले आफूले चुनाव उठ्नुभन्दा अगाडि आमजनतामाझ घोषणापत्रमार्फत उल्लेख गरेअनुसार भवन निर्माण गर्न लागिएको बताए । बुहउद्देश्यीय भवन निर्माणपछि उपमहानगरको आन्तरिक श्रोतमा बृद्धि हुने महतले बताए । हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा १० नम्बरका वडाध्यक्ष किताबसिं लामा, १४ नम्बरका वडाध्यक्ष दिपक खड्कालगायतको आतिथ्यता थियो ।







