मकवानपुरगढी देशकै चौथो बालमैत्री

साझाकुरा
२०७८ चैत्र १३, आईतवार १०:३७

हेटौंडा- मकवानपुरगढी गाउँपालिकालाई देशकै चौथो बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गरिएको छ ।मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शनिबार विशेष समारोहबीच मकवानपुरगढीलाई देशकै चौथो, बागमती प्रदेशको तेस्रो बालमैत्री घोषणा गरेका हुन् । उनले बालबालिकामा गरेको लगानी कहिल्यै खेर नजाने बताए । राज्यको शासनसत्ताको बागडोर सम्हाल्ने भविष्यका कर्णाधार बालबालिकामा तीन टै सरकारले प्राथमिकताका साथ लगानी गर्नुपर्नेमा उनको जोड छ । उनले गाउँपालिकाले प्रस्ताव गरेको खण्डमा बालबालिका क्षेत्रमा खर्चिने गरी एक करोड बजेट दिने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले बालमैत्री घोषणालाई व्यवहारमै कार्यान्वयन गर्न पालिकालाई निर्देशन दिएका छन् ।

गाउँपालिका अध्यक्ष बिदूर हुमागाईंले बालमैत्री स्थानीय कार्यान्वयन तथा दीगोपनको लागि वडास्तरको लगानी योजना र पाँच वर्षे रणनीतिक योजना बनाइएको बताए । वडास्तरीय लगान योजनाअन्तर्गत्को कार्यक्रमका लागि गाउँपालिकाले ३ करोड बजेट विनियोजन गरेको उनले बताए । उनले बालमैत्री गाउँपालिकाका ४ वटा क्षेत्रका ५१ वटा सूचकहरुलाई पूर्णरुपमा टिकाई राख्न अगाडि बढेको बताएका छन् । विद्यालयमा बालिबालिकाको सहभागिता बढाउन घरदैलो अभियान र शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराएको उनको भनाइ छ ।

गाउँपालिकाले बालमैत्री स्थानीय शासनका ५१ वटै सूचकहरु पूरा गरी बागमती प्रदेश सरकारको अनुमतिमा बालमैत्री घोषणा गरेको हो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार ५१ वटा मुख्यतः बाल बचाउँ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता र संस्थागत विकासका सूचकहरुमा काम गरेको थियो । मकवानपुरमा यसअघि मनहरी, बकैयामात्रै बालमैत्री घोषणा भएका छन् । यी दुई पालिकाभन्दा १२ वटा नयाँ सूचकमा मकवानपुुरगढीले काम गरेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुसार ३९ वटा मात्रै सूचक थिए ।

शनिबार गाउँपालिकाको ८ वटै वडाबाट विद्यालय, वडा बाल सञ्जाल, सहकारी तथा महिला समूहहरुले ¥याली निकालेर ५ नम्बर वडास्थित शारदा माविको खेल मैदानमा घोषणासभामा सहभागी भएका थिए । गाउँपालिकाले बालबालिका केन्द्रित कानूनी व्यवस्थालाई अवलम्बन गरी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रमबाट बालमैत्री स्थानीय शासन अवलम्बनको अभियान चलाइएको थियो । गाउँपालिकाले २०७७ माघ १९ र २० गते बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणाको लागि गाउँपालिका स्तरमा सामूहिक प्रतिवद्धता जनाएको थियो ।

गाउँपालिकामा १ सय ३ वटा बाल समूह गठन गरिएको छ । बाल समूहमा ६ सय ३ बालक र ८ सय ५४ बालिका आबद्ध छन् । गाउँपालिका हाल ८ हजार २ सय ९३ बालबालिका छन् । जसमा ४ हजार ६ सय २४ बालक र ३ हजार ६ सय ७२ बालिका रहेका छन् । ५ हजार ३ घरधुरी रहेको गाउँपालिकामा कुल जनसंख्या २५ हजार एकसय ५ रहेको बालमैत्री स्थानीय शासन कार्यक्रमका सहसंयोजक कविराज हुमागाईंले जानकारी दिए । बालमैत्री स्थानीय शासनका लागि गठन भएका बाल समूहसहित ७ वटा समूह तथा समितिमा बालकालिकाहरुको प्रतिनिधित्व गराइएको छ ।

गाउँपालिका समिति, वडासमिति, बालधिकार समिति, विद्यालय व्यवस्थापन समिति तथा कर्मचारी समिति, स्वास्थ्य व्यवस्थापन समिति, वडा तथा गाउँपालिका बाल समूह र सञ्जालमा बालबालिकालाई प्रतिनिधित्व गराइएको हुमागाईंले बताए । ७ वटा समूह तथा समितिमा बालक ७ सय ४३ र बालिका १ हजार १९ आबद्ध छन् । आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा २०७८ को मंसिरभित्र बालमैत्री घोषण गर्ने निर्णय गरेपनि कोरोना महामारीका कारण सम्भवन भएको थिएन । घोषणा समारोहमा प्रतिनिधिसभा सदस्य तथा संघीय अर्थ विकास समिति सभापति कृष्ण प्रसाद दाहाल, प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानलगायत सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*