स्थानीय तह निर्वाचन तयारी तीव्र

मकवानपुरको १० वटै पालिकामा तोकियो निर्वाचन अधिकृत
साझाकुरा
२०७८ चैत्र १४, सोमबार ०९:५३

हेटौंडा- मकवानपुरको १० वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले आइतबार देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोक्ने क्रममा मकवानपुरको १० वटै स्थानीय तहमा पनि निर्वाचन अधिकृत तोकेको हो । आयोगले आइतबार सार्वजनिक गरेको सूचनामा ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृत तोकेको थियो । आयोगले मकवानपुरको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतको ज्येष्ठतम् न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई तोकेको छ । आयोगले जिल्लाको १० पालिकामा भने जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको छ ।

इन्द्रसरोवर गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मुरारी वस्ती, कैलाश गाउँपालिकामा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरि पौडेल, बागमती गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका अधिकृत हरिप्रसाद उपाध्याय, भीमफेदी गाउँपालिकामा सामाजिक विकास मन्त्रालयका अधिकृत रुद्रहरि भण्डारी, मनहरी गाउँपालिकामा शिक्षा विकास निर्देशनालय मकवानपुरका अधिकृत पूर्णबहादुर दर्जीलाई आयोगले निर्वाचन अधिकृत तोकेको हो ।

त्यसैगरी, थाहानगरपालिमा जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराई, मकवानपुरगढी गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका उपसचिव नारनप्रसाद पोखरेल, बकैया गाउँपालिकामा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी आनन्दराज पोखरेल र राक्सिराङ गाउँपालिकामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव सागर मिश्रलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आगामी चैत मसान्तदेखि वैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ । स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।

निर्वाचन सुरक्षा योजना निर्माण सुरु

हेटौंडा- मकवानपुरमा स्थानीय तहको निर्वाचनको लागि आन्तरिक सुरक्षा योजना निर्माण सुरु भएको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा आन्तरिक सुरक्षा योजना निर्माण सुरु गरिएको हो । स्थानीय तहको निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्लामा रहेका १६५ वटा निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा रहेका मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८६ वटा सामान्य गरी तीन भागमा विभाजन गरिएको जनाइएको छ । राक्सिराङ गाउँपालिका, कैलाशगाउँपालिका, बागमती र बकैया गाउँपालिकाको केही स्थानलाई अति संवेदनशीलमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।विगतको निर्वाचनको समीक्षासहित सञ्चार र यातायातको पहुँचको आधारमा मतदानस्थललाई विभाजन गरिएको प्रजिअ पाण्डेले बताए ।

उनले यसै हप्ताभित्र निर्वाचनस्थल र केन्द्रका लागि आवश्यक पर्ने सुरक्षा रणनीति तय गर्ने पनि जानकारी दिए । पाण्डेले संघीय सरकारले स्थानीय तहको निर्वाचनको एकीकृत सुरक्षा नीति पास गरिसकेका कारण काम गर्न थप सहज हुने बताए । उनले निर्वाचनलाई मध्यनजर गरेर राजनीतिक दलसँग पनि निरन्तर संवाद र छलफल गरिरहेको बताए । प्रशासनले निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउनसमेत निर्देशन जारी गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार सूचना जारी गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*