मकवानपुरका दुईसय ८८ बालबालिका कुपोषित

श्रीजना नेपाल
२०७८ चैत्र १४, सोमबार १०:०१

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिका–८ भार्ताकी अञ्जना चेपाङ १३ महिनाको भइन् । उनको तौल तीन किलोमात्रै छ । ख्याउटे गाला र ठूलो पेट भएकी उनको तिघ्राको मासु मुजा परेका छन् भने उचाई पनि उमेर अनुसारको छैन ।विकट गाउँमा जन्मिएकी उनलाई पोषणको कमिको कारण यस्तो समस्या देखिएको हो । स्वास्थ्यकर्मीहरुको अनुसार भन्नुपर्दा उनलाई कुपोषण भएको छ । उनकी आमाको गर्भमा चौथो सन्तान हुर्किरहेको छ । अन्जनाको दाजु र दिदिको अवस्था पनि उनकै जस्तो छ । विकट गाउँको पनि पिछडिएको र गरिबीको मारमा पिल्सिएको चेपाङ समुदायमा जन्मिएकी उनले सरकारले निःशुल्क वितरण गर्ने बालभिटासमेत खान पाइनन् ।

बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल पर्ने उनीहरुले शरीरलाई आवश्यक पर्ने अन्य पोषण आफैं खान सक्ने त कुरै भएन । सानै उमेरमा विवाह गर्ने चेपाङ समुदायमा धेरै बच्चा जन्माउने प्रचलन नै छ । त्यहाँका अधिकांश महिलाले चार वटाभन्दा बढी बच्चा जन्माएका छन् ।धेरै बच्चा जन्माउने गरेकाले चेपाङ समुदायका बालबालिकाले आवश्यक पोषणयुक्त खानेकुरा खान पाउँदैनन् । जसले गर्दा अधिकांश बालबालिका विभिन्न रोगको शिकार बन्ने गरेका छन् । चेपाङ समुदायमा खाद्यान्नको सधंै अभाव हुने गरेको छ । विशेषतः मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ समुदाय बसोबास गर्छन् ।

यहाँ बसोबास गर्ने चेपाङ समुदायलाई आफूले उत्पादन गरेको अन्नले वर्षमा मुस्किलले ४ महिनाको गुजारा चल्ने गर्दछ । त्यसपछिका बाँकी समय चेपाङ समुदाय अनिकालको भुमरीमा पिल्सिने गरेका छन् । उनीहरुको अधिकांश छाक जंगलमा पाइने गिट्ठा भ्याकुर र कन्दमुलले टर्ने गर्छ । प्रत्येक वर्ष भोकमरीमा पिल्सिने चेपाङ समुदायले धेरै सन्तान जन्माउने गर्दा खाद्यान्नको झन् अभाव हुने गरेको छ । जसले गर्दा त्यहाँका अधिकांश बालबालिकामा कुपोषणजस्तो रोगहरु देखापर्ने गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालू आव २०७८÷७९ को हालसम्ममा जिल्लामा दुईसय ८८ बालबालिका कुपोषणबाट ग्रसित बनेका छन् । जिल्लामा ११ महिना उमेरसम्मका एकसय ६८ जना र १२ देखि २३ महिनासम्मका एकसय २० जना बालबालिका कुपोषित भएका हुन् । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार उनीहरुको तौल उमेरअनुसार निकै नै कम रहेको पाइएको छ । विशेष गरी खाद्य असुरक्षा, गरिबी र चेतनास्तर कमजोर भएका मकवानपुरका विकट गाउँका बालबालिकामा कुपोषण भेटिएको उनको भनाइ छ ।

कुपोषणबाट बालबालिकालाई मुक्त गर्न स्वास्थ्य कार्यालय तथा प्रदेश स्वास्थ्य निर्देशनालयले समेत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भएपनि खासै उपलब्धिमूलक भएको छैन बालबालिकालाई कुपोषण हुनै नदिन सरकारले स्थानीय तहबाटै बालभिटा वितरण गरिरहेको छ । तर, कतिपय अभिभावकलाई यसबारे जानकारी नै छैन । कतिपयले लगेर पनि खुवाउँदैनन् बालबालिकाले खान नरुचाउने गरेको भन्दै अभिभावकले पनि बालभिटा खुवाउन चासो नदिने गरेका छन् । बालबालिकाले बालभिटा नखाँदा पनि कुपोषण देखिने चिकित्सकहरु बताउँछन् । मकवानपुरमा सरकारले उपलब्ध गराएको बालभिटा खपत नहुँदा कतिपय अवस्थामा नष्टसमेत गर्नुपरेको छ ।

सरकारले बालबालिकाको स्वास्थ्यको लागि महत्वपूर्ण रहेको भन्दै निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि त्यसको सदुपयोग नहुँदा बालबालिकामा लाग्ने कुपोषण रोगलाई थप सहयोग पुगेको छ ।
बालबालिकालाई सरकारले उपलब्ध गराउने बालभिटा पूर्णरुपमा खुवाएमा पनि कुपोषणजस्तो रोग संक्रमणको सम्भावना केहि कम हुने चिकित्सकहरुको भनाइ छ । जन्मेको ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउन बालभिटा खुवाउने गरिन्छ । पोषण तथा एकीकृत बालरोग व्यवस्थापन अन्तर्गत्को बालभिटा कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहले बालभिटा निःशुल्क उपलब्ध गराउँछन् ।

बच्चा जन्मेको ६ महिनादेखि ११ महिनासम्म, १२ महिनादेखि १७ महिनासम्म र १८ महिनादेखि २३ महिनासम्मलाई हुने गरी स्थानीय तहले तीन पटक बालभिटा वितरण गर्ने गरेको छ । तर, मकवापुरका स्थानीय तहहरूको तथ्याड्ढअनुसार पहिलोपटक बालभिटा लैजाने अभिभावकको तुलनामा दोस्रो र तेस्रोपटक लिन आउनेको संख्या निकै कम छ । स्तनपान, खाद्य असुरक्षा, स्वास्थ्य सेवामा पहुँच र खानामा पोषक तत्वको अभावले पनि शीघ्र कुपोषणको समस्या देखिने उनीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*