युवतीमाथि छुरा प्रहार गर्ने यादव फरार
हेटौंडा- गत शुक्रबार एक युवतीलाई छुरा प्रहार गरेका सिर्जन यादव फरार भएका छन् ।हेटौंडा–७ हरियाली टोलका २४ वर्षीय अनिशा राईलाई छुरा प्रहार गर्ने यादव फरार भएका हुन् । आफ्नै घर आसपासको क्षेत्रमा राईलाई हेटौंडा–५ का २९ वर्षीय यादवले गत शुक्रबार छुरा प्रहार गरेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिर्जनको खोजी कार्य भइरहेको भएपनि हालसम्म पक्राउ परेका छैनन् । उनले किन छुरा प्रहार गरे भन्ने अझै खुल्न सकेको छैन ।
राई, मानव अधिकार संरक्षण तथा मानव बेचबिखनबिरुद्धको सञ्जाल सदस्य, सानाहातहरु नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा काम गर्दै आइरहेकी थिइन् । ‘के कारणले छुरा प्रहार भयो अझै थाहा पाउन सकिएको छैन । यस विषयमा हामी अनुसन्धान गरिरहेका छौं । फरार व्यक्ति पक्राउ नपरेसम्म यस विषयलाई यसै भन्न सकिने अवस्था छैन’, मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले भने । युवतीको घाँटीको पछाडि भागमा चोट लागेको र काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको रिमालले जानकारी दिए । उनको हेटौंडामा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो ।







