हेटौंडा–९ मा फैलियो खोरेत रोग

साझाकुरा
२०७८ चैत्र १४, सोमबार १०:२५

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–९ मा खोरेत रोग तीव्र रुपमा फैलिएको छ ।उक्त वडामा पछिल्लो तीन सातामा करिब ३० वटा गाई मरेको स्थानीय भगवान रानामगरले जानकारी दिए । वडामा खोरेत
रोगको महामारीले धमाधम गाई मरिरहँदा पनि नियन्त्रणको लागि सम्बन्धित निकायले चासो नदेखाएको उनको गुनासो छ । ‘यत्रो दिन भइसक्यो वडाका गाईहरु खोरेतले मर्न थालेको । आइतबारमात्रै हामीले २ वटा गाईलाई पुरेका छौं । यसको नियन्त्रणमा कसैले चासो देखाएको हामिले पाएनौ’, उनले भने ।

मगरले अधिकांश गाईपालक किसानले बिमा पनि नगरेको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग पनि गरेका छन् । अर्का स्थानीय ज्ञानेन्द्र अधिकारीले पनि करिब ३० वटा गाई मर्दा पनि वडा, उपमहानगरपालिका र भेटेरीनरी अस्पतालले यसको उपचार र नियन्त्रणमा चासो नदिँदा आफूहरु मारमा परेको गुनासो गरे । अधिकारीले गाई मरेका किसानलाई क्षतिपूर्तिको माग पनि गरे ।पशु सेवा विज्ञ केन्द्र, भेटेरिनरी अस्पताल हेटौंडाका प्रमुख डा. ब्रजकुमार ठाकुरले यस विषयमा आइतबार हेटौंडा उपमहानगरपालिका पशु विकास शाखामा छलफल भएको बताए । उनले उक्त रोगको नियन्त्रणको लागि चेतना फैल्याउन माइकिङ गर्ने, भ्याक्सिन लगाउने, गोठगोठमा एआई गर्न जाने प्राविधिकहरुबाट पनि रोग सर्न सक्ने हुँदा उनीहरुलाई हाललाई नपठाउने जस्ता निर्णयहरु भएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*