चुरियामाई माविको आर्थिक विषय छानविन गर्न समिति गठन
हेटौंडा- हेटौंडा–१५ स्थित चुरियामाई माविको आर्थिक विषयमा छानविन गर्न समिति गठन गरिएको छ ।विद्यालयको अभिभावक भेलामा लेखापाल पुरुषोतम ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन नभएपछि विद्यालयको आर्थिक विषयको छानविन गर्न समिति गठन गरिएको हो । समितिले अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन दिने जनाइएको छ । अभिभावक भेलाले वडा अध्यक्ष महारत्न लामाको संयोजकत्वमा ३ जना अभिभावक र एक शिक्षक प्रतिनिधि रहेको समिति गठन गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मोक्तानले भेलामा धेरै वर्ष पुराना हिसाब किताब खोज्दै जान थाले समस्या हुने भन्दै अभिभावकलाई सम्झाएका थिए । उनले विद्यालयलाई विधिअनुसार संचालन गर्न आफूले कुनै कसर बाँकी नराखेको बताएका थिए ।







