१४ नम्बर वडा कार्यालय घेराउ
हेटौंडा- स्थानीयले हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्काको कारण देखाउँदै वडा कार्यालय घेराउ गरेका छन् ।वडाध्यक्ष खड्काले वडामा परेका योजना निर्माण गर्न आफ्ना निकटकालाई समावेश
गरी उपभोक्ता समिति बनाएको आरोप लगाउँदै स्थानीयले वडा कार्यालय घेराउ गरेका हुन् ।बागमती प्रदेश सरकारले केही समयअघि मात्रै स्वीकृत गरेको बजेट कार्यान्वयन गर्न स्थानीय लाभग्राही उपभोक्ताहरुसँग छलफल नै नगरी निश्चित मान्छेहरु भेला गरेर उपभोक्ता समिति बनाएको स्थानीयको आरोप छ ।
नेपाली कांग्रेस वडा सभापति मनोज थिङले टोलभन्दा बाहिरको व्यक्ति राखेर समिति गठन गरेको बताएका छन् । बुधवार योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्ने उद्देश्यले वडा कार्यालय जाँदा वडाध्यक्षले आफूहरुले समिति गठन गरी सम्झौता गर्न पठाइसकेको जवाफ दिएपछि स्थानीयहरु आक्रोशित बनेको बताइएको छ ।‘प्रदेश सरकारको योजना कार्यान्वयन गर्ने क्रममा वडाध्यक्षले छलफल र भेलाबिनै टोलभन्दा बाहिरको मानिसहरुको नाम राखेर पठाएको पाइयो’, थिङले भने । वडाध्यक्ष खड्काले प्रदेशबाट हालिएको विभिन्न ६ वटा योजना कार्यान्वयन गराउन उपभोक्ता समिति गठन गरी कार्यान्वयनको लागि सिफारिस गरिसकेको जनाइएको छ ।







