थाहा नगरपालिकाले ‘थाहा दर्शन’ पढाउने

साझाकुरा
२०७८ चैत्र १८, शुक्रबार ०९:१३

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकाले रुपचन्द्र विष्टको ‘थाहा दर्शन’लाई स्थानीय पाठ्यक्रमको रुपमा लागू गर्ने भएको छ ।नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाको सबै विद्यालयमा ‘थाहा दर्शन’लाई स्थानीय पाठ्यक्रमको रुपमा पढाउने भएको हो । नगरपालिकाले २०७९ सालको शैक्षित्र सत्रबाट नै लागू गर्नको लागि स्थानीय विषयवस्तुलाई समेटेर ‘थाहा ज्ञानमाला’ तयारसमेत पारिसकेको छ ।

जेठबाट सुरु हुने भनिएको नयाँ शैक्षिक सत्रको पाठ्यक्रममा समावेश गर्न तयार पारिएको ‘थाहा ज्ञानमाला’ छाप्ने तयारीमा रहेको थाहा नगरपालिकाको मेयर लवशेर विष्टले जानकारी दिए । उनले रुपचन्द्रको ‘थाहा दर्शन’ र स्थानीय विषयवस्तुलाई समेटेर बनाइएको ‘थाहा ज्ञानमाला’ छाप्नको लागि नगरपालिकाले टेण्डर आह्वान गरिसकेको जानकारी दिए ।  उनका अनुसार उक्त पाठ्यक्रम नगरपालिकाले दुई चरण गरी लागू गर्नेछ । नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु गर्ने तयारी गरेको छ भने दोस्रो
चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागू गर्ने जनाइएको छ ।

रुपचन्द्र बिष्ट र उनको दर्शनलाई जीवन्त बनाउन तथा संरक्षणका लागि पाठ्यक्रम तयार पारिएको मेयर विष्टको भनाइ छ । विभिन्न समयमा गोष्ठी र छलफलपछि रुपचन्द्र विष्टको ‘थाहा दर्शन’लाई पाठ्यपुस्तकमा समावेश गर्न सफल भएको उनले बताए । रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाएपछि विद्यार्थीहरुमा व्यावहारिक ज्ञान, लगनशिलता र इमान्दारिता बृद्धि हुने विश्वासले पाठ्यक्रम तयार पारिएको उनले बताए ।

‘रुपचन्द्र विष्ट आफैं पनि सिकेका कुरा व्यवहारमा उतार्न र जे सिक्ने हो त्यसैमा मात्र लाग्न प्रेरित गर्ने स्वभावका रहेकाले हामीले ती साना भाइबहिनीहरुमा पनि पाठ्यक्रमबाट त्यस्तै व्यवहारिकता र लगनशिलता बृद्धि हुने विश्वास गरेका छौं’, विष्टले भने ।उनका अनुसार कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा दार्शनिक रुपचन्द्र विष्ट र थाहा अभियानबारे सामान्य जानकारीमात्र समावेश गरिएको छ । ती कक्षाका बालबालिकाका लागि आवश्यक र बुझ्न सक्ने प्रकृतिको पाठ्य सामग्रीहरु समावेश गरिएको छ । रुपचन्द्र विष्टको उपनाम र विशेषताका बारेमा मात्र साना कक्षाका बालबालिकालाई पढाउने योजनाअनुसार सामान्य जानकारी पुस्तकमा समावेश गरिएको हो ।

त्यस्तै, ती कक्षाका विद्यार्थीले रुपचन्द्र विष्टका समाज सुधारका सूचकका बारेमा पनि पुस्तकबाट सिक्न सक्नेछन् । शिक्षामा विपन्न बालबालिकाको पहुँच पु¥याउन रुपचन्द्र विष्टले गरेका योगदान, समाज सुधारका लागि आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रका योगदानबारे पुस्तकमा समावेश गरिएको छ । पुस्तकामा थाहानगरपालिकाको नामकरणबारे जानकारी समावेश गरिएको छ । थाहा नगरपालिका क्षेत्रको भौगोलिक अवस्था, खोला, नाला, बोटबिरुवा र हावापानीको विषय पनि पुस्तकमा समावेश गरिएको मेयर विष्टले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*