मकवानपुर जिल्लामा पाँच वर्षमा थपिए ६७ हजार मतदाता
हेटौंडा- ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनका लागि तयारी तीव्र पारिएको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।निर्वाचन आयोगले केही दिनअघि मात्रै २९ बैशाख २०७९ सम्ममा १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर मतदाताको नामावली सार्वजनिक गरेको छ । मकवानपुरमा बितेको पाँच वर्षभित्र उल्लेख्य संख्यामा मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार २०७४ सालको स्थनीय तह निर्वाचनपछि मकवानपुरमा ६७ हजार एकसय ६० जना मतदाता थपिएका हुन् ।
स्थानीय तह निर्वाचन २०७४ मा मकवानपुरको मतदाताको संख्या दुई लाख २७ हजार सात सय ५९ थियो । आशन्न स्थानीय तहको निर्वाचनमा दूई लाख ९४ हजार नौसय १९ जनाले मत हाल्न पाउने भएका छन् ।जसमध्ये एकलाख ४९ हजार नौसय ५४ जना पुरुष, एक लाख ४४ हजार नौसय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन् । सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको एक लाख चारहजार चारसय ७३ जना मतदाता छन् ।
जसमध्ये ५० हजार सातसय २५ जना पुरुष र ५३ हजार सातसय ४५ महिला र तीन जना अन्य रहेका छन् । सबैभन्दा कम मतदाता ईन्द्रसरोबर गाउँपालिकामा १२ हजार चारसय ७१ जना छन् । जसमध्ये छहजार चारसय ६५ जना पुरुष र छहजार छ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ । थाहा नगरपालिकामा कूल ३२ हजार तीनसय सात मतदातामध्ये १६ हजार छसय ९९ जना पुरुष र १५ हजार छसय सात जना महिला र एक जना अन्य छन् ।
मकवानपुरगढी गाउँपालिकामा १९ हजार एकसय १८ जना मतदातामध्ये नौ हजार आठसय ९९ जना पुरुष र नौहजार दुईसय १९ जना महिला रहेको आयोगले जनाएको छ । आयोगका अनुसार बकैया गाउँपालिकामा १५ हजार पाँचसय ९३ जना पुरुष, १४ हजार तीनसय ४८ जना महिला र दुई जना अन्य गरी कूल २९ हजार नौसय ४३ जना मतदाता, बागमती गाउँपालिकामा ११ हजार एकसय ९० जना पुरुष र १० हजार आठ सय ५० महिला गरेर २२ हजार ४० मतदाता छन् ।
भीमफेदी गाउँपालिकामा आठ हजार नौसय ३५ जना पुरुष र आठ हजार चारसय ९३ जना महिला गरेर १७ हजार चारसय २८ जना मतदाता छन् । मनहरी गाउँपालिकामा १३ हजार सातसय नौ जना पुरुष र १३ हजार १२ जना महिला गरेर २६ हजार सातसय २१ जना मतदाता छन् ।राक्सिराङमा आठ हजार सातसय ४७ जना पुरुष र सात हजार ८५ जना महिला गरेर १५ हजार आठसय ३२ जना, कैलाश गाउँपालिकामा सात हजार नौसय ९२ जना पुरुष र छ हजार पाँच सय ९४ जना महिला गरेर १४ हजार पाँच सय ८६ जना मतदाता रहेको आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगका अनुसार मकवानपुरमा मतदान स्थलको संख्या एकसय ६५ र मतदात केन्द्रको संख्या तीनसय ५६ छ ।







