प्रमुख बन्ने दौडमा स्थानीय तहका उपप्रमुखहरु

साझाकुरा
२०७८ चैत्र २०, आईतवार १२:२४

हेटौंडा- स्थानीय तहको निर्वाचन भएको आगामी वैशाख ३१ गते ५ वर्ष पूरा हुँदैछ । २०७४ सालको निर्वाचनबाट चुनिएका वर्तमान जनप्रतिनिधि पदमुक्त हुँदैछन् । नयाँ जनप्रतिनिधि चयन गर्न आगामी वैशाख ३० गते पुनः स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरको १० वटै पालिकामा चुनाव केन्द्रित गतिविधिहरु भइरहेका छन् । निर्वाचनमा होमिन चाहेका आकांक्षीहरु खुलेर उम्मेदबारी घोषणा गर्ने, पार्टीभित्र लविङ गर्ने र चुनाव लक्षित भेटघाटलाई बढाउने कार्यमा व्यस्त देखिन्छन् ।

वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा वर्तमान अवस्थामा पालिकाको प्रमुख रहेकाहरु पुनःसोही पदमा दोहोरिन चाहेको देखिन्छ भने उपप्रमुखहरु एक स्टेप अघि बढेर प्रमुखको जिम्मेबारी सम्हाल्न चाहान्छन् । जिल्लाको १० वटा पालिकामध्ये अधिकांश पालिकाको उपप्रमुखहरु आगामी निर्वाचनबाट प्रमुख पदमा आउन आकांक्षी देखिएका हुन् । संविधानले व्यवस्था गरेअनुसार २०७४ सालको निर्वाचनमा उपप्रमुखमा उठेका महिला जनप्रतिनिधिहरु ५ वर्षको अवधिमा आफूहरुले राम्रो अनुभव र दक्षता हासिल गरेको भन्दै प्रमुख पदको दाबेदार देखिएका हुन् ।

हाल मकवानपुरमा रहेको १० वटा पालिकामध्ये एउटा उपमहानगर, एउटा नगरपालिका र ८ वटा गाउँपालिका छ । तीमध्ये ९ वटा पालिकामा महिला उपप्रमुख छन् भने थाहा नगरपालिकामा पुरुष उपप्रमुख छन् । २०७४ को निर्वाचनमा एमालेले १० वटा स्थानीय तहमध्ये ६ वटामा प्रमुख र ८ स्थानीय तहमा उपप्रमुख पद जितेको थियो । एमालेले हेटौंडा उपमहानगरपालिकासहित मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पदमा जीत हासिल गरेको थियो भने बकैया गाउँपालिका र बागमती गाउँपालिकामा उपप्रमुख पद जितेको थियो ।

त्यस्तै, नेपाली काँग्रेस र माओवादी केन्द्रले २÷२ वटा स्थानीय तहमा नेतृत्व लिएका थिए । काँग्रेसले राक्सिराङ गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुखसहित बकैया गाउँपालिकामा प्रमुख पद जितेको थियो । माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिकामा पालिका प्रमुख पद जितेको थियो । जिल्लाको ९ वटै स्थानीय तहका उपप्रमुखले महिला पनि पालिका प्रमुखको जिम्मेबारी लिन सक्षम रहेको बताएका छन् । पार्टीले अवसर दिएको खण्डमा पुरुषसरह जिम्मेबारी लिएर काम गर्न महिला पनि सक्षम रहेको उनीहरुको भनाइ छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपम्रमुख मिनाकुमारी लामा, बागमती गाउँपालिकाकी धनमाया स्याङ्तान, बकैयाकी सरला बोलखे, मकवानपुरगढीकी हर्कमाया रुम्बा, ईन्द्रसरोवरकी उमाकुमारी लामा, कैलाशकी सुकुमाया थिङ, राक्सिराङकी निर्मला हिम्डुङ, मनहरीकी मनिला विष्ट र भीमफेदीकी पार्वती रानाले पालिका उपप्रमुख भएर काम गर्दै आएको अनुभवले पनि आफूहरुले अब प्रमुखको भूमिका पाउनुपर्ने दाबी गरेका हुन् ।

उनीहरुले पार्टीले विगतको कामको मूल्याड्ढन गरेर लैंगिक विभेद नगरी पालिका प्रमुखको भूमिकामा महिलाहरुलाई अगाडि बढाउनुपर्ने बताएका छन् । पालिका प्रमुखको काम कुनै एउटा विशेष लिङ्कले नभइ आफ्नो जिम्मेवारी र लगनशिलताले गर्ने भएकाले त्यसलाई सबै दलले बिचार गर्नुपर्ने उनीहरुको भनाइ छ । मकवानपुरको विकट कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ आगामी स्थानीय तहको निर्वाचनमा आफू गाउँपालिका अध्यक्ष पदको दाबेदार रहेको बताइन् । विगत केहि महिनादेखि गाउँपालिकाको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्दै आएकी उनले आफूले गाउँपालिका हाँक्न सक्ने बताएकी छन् । ‘मैले गाउँपालिकाको कार्यबाहक अध्यक्षको रुपमा पनि काम गरिसकेको छु । कुनैपनि काम देखेर यो काम गर्न सक्दिन जस्तो लाग्दैन ।

म गाउँपालिकाको प्रमुख पदमा रहेर काम गर्न सक्षम छु’, उनले भनिन् । अख्तियारमा मुद्दा परेर गाउँपालिकाको अध्यक्ष निलम्बनमा परेपछि उनले पालिका प्रमुखको रुपमासमेत काम गर्दै आइरहेकी छन् । अध्यक्ष पदमा टिकट ल्याउने विषयमा आफू पार्टी नेतृत्वसँगको छलफलमा रहेको उनको भनाइ छ । २०७४ को निर्वाचनमा उनी एमालेबाट पालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।
२०७४ को निर्वाचनमा एमालेबाट मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी मनिला विष्ट अहिले नेकपा एकीकृत समाजवादीमा आवद्ध छिन् । आगामी निर्वाचनमा उनी पालिका अध्यक्षमा उम्मेदबार बन्ने भन्दै लविङ गरिरहेकी छन् । पार्टीले विगत ४ वर्षदेखिको काम र सक्रियताको आधारमा आगामी निर्वाचनमा आफूलाई अध्यक्षको उम्मेदवार बनाउने उनले विश्वास व्यक्त
गरिन् । यद्यपि, राजनीतिक दलहरुमा महिलाले नेतृत्व पाउने विषय अलि कठिन हुने उनको बुझाइ छ ।

भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना पनि यतिबेला गाउँपालिकाको प्रमुख पदमा उठ्नको लागि लविङ गरिरहेकी छन् । विगतको निर्वाचनमा एमालेबाट भीमफेदी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित रानाले आफू पालिका प्रमुखको जिम्मेवारी सम्हाल्न सक्षम रहेको बताएकी छन् । विगतको निर्वाचनमा एमालेबाट भीमफेदी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित रानाले आफ्नो दाबी अध्यक्षमा रहे पनि पार्टीले टिकट दिनेमा भने विश्वस्त नरहेको बताइन् ।

राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङले पालिका अध्यक्ष राजकुमार मल्लले छाडेमा अध्यक्ष बन्ने पालो आफ्नै भएको बताएकी छन् । उनले पालिका अध्यक्षमा आफ्नो दाबी भएपनि आगामी निर्वाचनमा अध्यक्ष मल्लले दोहोरिने इच्छा राखेका कारण आफू पुनः उपाध्यक्षमै उठ्ने बताइन् । अध्यक्ष मल्लले माथिल्लो नेतृत्वमा जाने इच्छा गरेमा भने आफू अध्यक्ष पदमा दाबी गरेर अघि बढ्ने उनले बताइन् । २०७४ सालको निर्वाचनमा राक्सिराङमा अध्यक्ष र उपाध्यक्ष दुवै काँग्रेसले जितेको थियो ।‘आगामी निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा उठ्ने मेरो ईच्छा हो । तर, अहिलेको अध्यक्षज्यूले पनि दोहा¥याउन चाहानु भएको छ भन्ने सुनेको छु । उहाँ माथिल्लो तहमा गए मेरो पालो आउथ्यो’, उनले भनिन् । बकैया गाउँपालिकाको उपाध्यक्ष सरला बोलखेले पनि अध्यक्ष पदमा दाबी गरिरहेकी छन् । उनले पुनः उपाध्यक्ष पदमा उठ्ने इच्छा नभएको भन्दै अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेको बताएकी छन् ।

हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिनाकुमारी लामाले आफू मेयरको दाबेदार भएको बताएकी छन् । उनले आफू कर्ममा प्रतिबद्ध भएकाले पनि आगामी निर्वाचनमा पार्टीले आफूलाई मेयरमा अघि बढाउने विश्वास व्यक्त गरिन् । २०७४ को निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयरमा निर्वाचित भएकी उनी हाल नेकपा एकीकृत समाजवादीमा छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*