‘पत्रकारिताकै बलमा संघीय लोकतान्त्रिक गणतन्त्र पायौं’–प्रदेश प्रमुख शर्मा
हेटौंडा- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकारिताकै बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न सकिएको धारणा राखेका छन् ।शर्माले पत्रकारिताको माध्यमबाट मुलुकमा ठूला
राजनीतिक परिवर्तन सम्भव भएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र पनि यसकै बलमा प्राप्त भएको बताएका हुन् । शनिबार हेटौंडामा तु खबर डटकमको पाँचौं वार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउँदै लैजानु पर्नेमा जोड दिए ।
लेखक तथा राजनीतिक विश्लेषकसमेत रहेका शर्माले सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहक रहेको औंल्याएका छन् । सञ्चार माध्यमहरुले नागरिकहरुको सुसूचित हुने अधिकारको प्रबद्र्धन गरिरहेको उनले बताए । ‘आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्छ । परिवर्तनको सम्बाहकका रुपमा स्थागित हुनुपर्छ’, शर्माले भने । प्रदेश प्रमुख शर्माले पत्रकारिता क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।
समाजमा विद्यमान, कुरीति, कुसँस्कृति, अन्धविश्वास र राजनीतिक क्षेत्रमा रहेका यथास्थितिवादीहरुको विपक्षमा पत्रकारिता उभिएर जनताको हक र हीतको पक्ष कलम चलाउनुपर्ने उनको भनाइ छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अतिरिक्त देश र जनतालाई अदम्य शाहस भएको स्वाभिमानयुक्त पत्रकारिता आवश्यक रहेको शर्मा बताउँछन् । विभिन्न कालखण्डमा शासकहरुबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरु बिफल पार्दै पत्रकारिता निडरतापूर्वक अघि बढेको उनले स्मरण गराए ।
तु खबरका सम्पादक गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त प्रजा, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एमालेका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालालगायतको आतिथ्यता थियो ।
मकवानपुर जागरण अभियानको सहकार्यमा वार्षिक उत्सवको अवसर पारेर तु खबर डटकमले ५ जना पत्रकार र एक जना छापाखानामा कार्यरत् कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, राजधानी दैनिकका सम्पादक ध्रुव लम्साल, नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुली, रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुशराज), धादिङपोष्ट डटकमका सम्पादक नारायण शिलवाल र विभिन्न छापाखानामा पत्रपत्रिका छपाईको काम गर्दै आएका सोमबहादुर बिष्टलाई नगदसहित पुरस्कृत गरिएको हो । भण्डारीले १५ हजार १, लम्साललाई नगद १२ हजार १, पराजुलीलाई नगद १० हजार १, दाहाल र शिलवाललाई जनही १० हजार १ रुपियाँ दिइएको थियो । बिष्टलाई नगद ५ हजार रुपियाँ नगदसहित सम्मान प्रदान गरिएको छ ।
बिष्ट हेटौंडाका विभिन्न छापाखानामा २०४० सालदेखि कार्यरत् छन् ।कार्यक्रमको अबसरमा तु खबरद्वारा प्रकाशित ‘तु खबर स्मारिका’ को पाँचौँ संस्करण प्रदेश प्रमुख शर्मा, प्रदेश सांसद मुनु सिग्देल लगायतले विमोचन गरेका छन् । तु खबरले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा स्मारिका प्रकाशनसँगै सक्रिय पत्रकारहरुलाई पुरस्कार वितरण गर्दै आइरहेको छ ।







