एमालेलाई ‘ढुकढुक’, कांग्रेसको भरमा माओवादी र समाजवादी

साझाकुरा
२०७८ चैत्र २१, सोमबार १३:०१

हेटौंडा- मकवानपुरमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । ३० वैशाखमा तय निर्वाचनका लागि जिल्लास्थित पार्टीहरु गाउँ पसेका छन् ।गाउँगाउँमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीले गतिविधि बढेको छ । निर्वाचन नजिकिएसँगै पार्टी फेरबदल गर्ने क्रमपनि बढेको छ । स्थानीय तह निर्वाचनको सम्भावित परिणामबारे चोक–चोकमा बहस भइरहेको छ । मकवानपुरका १० स्थानीय तहमा कुन पार्टीले जित्नेदेखि मेयर र उपमेयरका आकांक्षीबारे चर्चा सुरु भइरहेका छन् । मकवानपुरका पालिकाहरुमा हालका उपप्रमुखहरुले प्रमुखमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । संविधान सभा सदस्यदेखि वर्तमान मेयरहरुले पुनः पालिका हाँक्ने दावी छोडेका छैनन् ।

१० पालिकामध्ये हेटौंडा उपमहानगरपालिकाको निर्वाचन सबैको चासोको विषय बनेको छ । बागमती प्रदेशको राजधानीसमेत भएकाले हेटौंडाको मेयरको कुर्सीमा ठूला नेताहरुले नै आँखा लगाएका छन् । प्रदेशकै एक मात्र उपमहानगर हेटौंडाको मेयर को र कुन पार्टीले जित्छ ? भन्नेमा सबैको चासो छ । मेयरको नेतृत्व लिन प्रमुख पार्टीभित्रै तीव्र प्रतिस्पर्धा चलेको छ । मेयरको चर्चा अगाडि हेटौंडामा कुन पार्टी बलियो छ भन्ने आंकलन जरुरी छ । २०७४ सालको निर्वाचनलाई आधार मान्दा हेटौंडाको बलियो पार्टी नेकपा एमाले हो । एमाले विभाजनपछि कमजोर भएको विश्लेषण छ । एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) कांग्रेस र माओवादी सहित पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिँदै छ ।

गत निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धनका उम्मेदवारलाई हराएर एमालेका मेयर र उपमेयरले चुनाव जितेका थिए । आगामी ३० वैशाखमा हुने निर्वाचनमा पुनः कांग्रेस र माओवादीले अन्य ३ पार्टीसँग गठबन्धन गरेर एमालेविरुद्ध निर्वाचन लड्ने तयारीमा छन् । केही दिनअघि नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको गठबन्धनका नेताहरुको बैठकले जिल्लास्थित १ सय २ वटै वडामा कसिलो गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय गरेका छन् । पाँच दलीय गठबन्धनबाट जिल्लाकै प्रमुख पार्टी एमाले ‘ढुकढुक’को स्थितिमा पुगेको नेताहरुको विश्लेषण छ ।

‘कांग्रेससहित पाँच दल एकजुट भएर चुनावमा जाँदैछन् । एमालेलाई निर्वाचन जित्न नसकिने भएर ढुकढुक भइरहेको छ ।,’ एकीकृत समाजवादीका एक नेताले भने । एमालेलाई पुरानो विरासत जोगाउन मुस्किल हुने आंकलन छ । कम्युनिष्टको गढका रुपमा रहेको मकवानपुरमा गत निर्वाचनमा एमालेले ६ वटा स्थानीय तह जितेको थियो । जसमध्ये पार्टी विभाजन पश्चात दुई अध्यक्ष र उपाध्यक्ष एकीकृत समाजवादीमा समाहित भएका छन् । हेटौंडामा २०४६ सालको बहुदलीय व्यवस्थापछि भएका दुवै निर्वाचनमा एमालेले जितेको थियो । २०४९ र २०५४ का दुवै चुनावमा एमालेले विजयी हासिल गरेको थियो ।

हेटौंडामा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादी प्रमुख प्रतिस्पर्धी हुन् । यहाँ जनता समाजवादी पार्टीको पनि उपस्थिति छ । हेटौंडामा गठबन्धनका उम्मेदवारलाई चुनाव जित्न एकीकृत समाजवादीको मत आवश्यक छ । कांग्रेस र माओवादीको गठबन्धनलाई गत निर्वाचनमा हराएको एमालेलाई पार्टी विभाजनको असरले नै पराजयमा पु¥याउने आंकलन छ । एकीकृत समाजवादीले नगरमा वडास्तरसम्मै कमिटी विस्तार गरेको छ । तर, एमालेले भने एकीकृत समाजवादीको असर नपर्ने जनाएको छ । एमाले मकवानपुरका सचिव नवीन सिग्देल एमाले कमजोर नभई झनै बलियो भएको दाबी गर्छन । एकीकृत समाजवादीले ठूलो असर नपु¥याउने सिग्देलको भनाई छ । एमाले झन सशक्तरुपमा प्रस्तुत भएको उनले दावी गरे ।

‘२०५६ सालमा पनि एमाले फुटेकै थियो । त्यतिबेला पनि मकवानपुरबाट एमाले तीनवटै सिट जितेको हो । अहिले पनि खासै असर छैन, थोरै असरको परिपूर्ती भइसकेको छ ।,’ सिग्देलले भने । हेटौंडामा कांग्रेसले ६ वटा वडा र माओवादीले दुईवटा वडामात्रै वडा अध्यक्ष जितेको थियो । १९ वटा वडामध्ये १२ वटा वडा एमालेले जितेको थियो । एमालेको प्रभाव क्षेत्र मानिएको हेटौंडा–१ र ५ नम्बर वडामा अध्यक्ष कांग्रेसले जितेको थियो भने बाँकी चार–चार जना वडा सदस्य भने एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

एमालेलाई टक्कर दिने पार्टी नेपाली कांग्रेस हो । कांग्रेसले पनि हेटौंडामा बलियो दाबेदारका रुपमा आफूलाई उभ्याउँदै आएको छ । कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले आगामी निर्वाचनमा गठबन्धनले जित्ने पक्का भएको बताउँछन् । कांग्रेस विगतमा भन्दा बलियो भएको सचिव महत बताउँछन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी हेटौंडामा एक्लाएक्लै लड्ने स्थितिमा छैनन् । यी दुवै कांग्रेसको भरमा छन् । हेटौंडामा एमालेलाई हराउन माओवादी र एकीकृत समाजवादीसँग पूरा सामथ्र्य नभएकाले कांग्रेससँग गठबन्धन गर्नुको विकल्प नभएको विश्लेषण छ । हेटौंडाका अधिकांश वडामा कमिटी विस्तार गरेको एकीकृत समाजवादीले एमालेलाई जित्न नसकेपनि हराउने भूमिका खेल्ने नेताहरु सार्वजनिक कार्यक्रममा बोलिरहेका छन् ।

कांग्रेससँग कुनै हालतमा गठबन्धन गरेर एमालेलाई हराउनु पर्नेमा माओवादी र एकीकृत समाजवादीका नेताहरुको जोडछ । नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिनले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए । हेटौंडामा मात्र नभई अन्य स्थानीय तहमापनि एमाले बलियो छ । गत निर्वाचनमा पनि कांग्रेस र माओवादीले अधिकांश पालिकामा गठबन्धन गरेर चुनाव लडेका थिए । एमालेसँग राप्रपाको चुनावी गठबन्धन हुने चर्चा छ । यी दुई पार्टीबीच गठबन्धन भए पाँच दल एकातर्फ दुई दल अर्कोतर्फ चुनावी भिडन्तमा हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*