पहिलो पटक बत्ती पुग्दा रमाए चेपाङ

श्रीजना नेपाल
२०७८ चैत्र २२, मंगलवार ०९:०७

हेटौंडा, – सल्लाको दियालो बालेर घर उज्यालो पार्ने चेपाङ समुदायको घरमा बत्ती बल्न थालेको छ ।मकवानपुरकै विकट राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबुङमा पेल्ट्रिक सेट सञ्चालनमा आएसँगै पहिलोपटक बिजुली बत्ती बलेको हो । अति सीमान्तकृत समुदायको बाहुल्यता रहेको पार्सिबाङ रुन्चेबुङमा हालसम्म बत्ती पुगेको थिएन ।बत्ती नभएकोले त्यहाँका चेपाङहरु सल्लाको दियालो बालेर घरलाई उज्यालो पार्ने गर्थे । नेपालको पूर्व–पश्चिम राजमार्गबाट करिब ३५ किलोमिटरको दूरिमा मात्रै रहेको उक्त चेपाङ बस्तीमा पनि बिजुली बत्ती बल्न थालेपछि स्थानीय चेपाङहरु हर्षित भएका छन् । सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा बनेको पेल्ट्रिक सेट आइतबारबाट उक्त स्थानमा सञ्चालनमा आएको छ ।

४ किलोवाट क्षमताको पेल्ट्रिक सेट (हाइड्रोपावर) सञ्चालनमा आएसँगै स्थानीय चेपाङ हर्षित भएका हुन् । कूल २३ लाखमा जडान भई सञ्चालनमा आएको पेल्ट्रिक सेटको लागि सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जालले १३ लाख सहयोग गरेको थियो भने गाउँपालिकाले ६ लाख रुपियाँ खर्चिएको छ । बाँकी ४ लाख रुपियाँ बराबरको स्थानीय बासिन्दाले श्रमदान गरेका छन् । २०७७ सालको पुसबाट सुरु भएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएर सञ्चालनमा आएको सञ्जालका कार्यकारी निर्देशक प्रविन्द्र शाक्यले जानकारी दिए ।

आइतबार गाउँमा बत्ती बाल्न पेल्ट्रिक सेट उद्घाटन भएसँगै त्यहाँका चेपाङको घरको अँध्यारो हटेको छ । पेल्ट्रिक सेट उद्घाटन कार्यक्रममा आएका चेपाङ समुदाय बत्ती बाल्न सल्लाको दियालो बनाउनु पर्ने बाध्यता हट्यो भन्दै खुशी भएका देखिन्थे । पेन्ट्रिक सेट उद्घाटन कार्यक्रममा ६ महिनाको बच्चा काखमा च्यापेर आइपुगेकी विष्णुमाया चेपाङ बेलुकाबाट घरमा बत्ती बल्ने भयो भन्दै खुशी देखिन्थिन् । घरमा हालसम्म बत्ती नहुँदा उनलाई बिहान बेलुकाको घरधन्दा छिन्नै मुस्किल पथ्र्यो ।

‘बिहान मेलामा जाँदा अँध्यारैमा उठेर घरधन्दा गर्नुपर्ने हुन्छ । तर, बत्ती नभएकोले साह्रै गाह्रो पर्ने गरेको थियो । बेलुका पनि मेलापातबाट आउँदा सधंै दियालो बाल्न सल्ला खोजेर ल्याउनु पथ्र्यो’, उनले भनिन् ‘अब त हाम्रो घरमा पनि बत्ती बल्ने भयो । ‘उनको खुशी आँखामा प्रस्टै देखिन्थ्यो । उनीसँगै उभिएकी राममाया चेपाङको अनुहारमा पनि छुट्टै चमक देखिन्थ्यो । बत्ती नभएकोले मेलापात जाँदा पनि उनी खाना पकाउन अँध्यारो हुन्छ भन्दै हत्तारिदै घर आउने गर्थिन् । तर, गाउँमै पेल्ट्रिक सेट जडान भएर घरमा बत्ती बल्ने भएपछि उनको खुशीको सीमा नै थिएन । ‘अब अँध्यारो हुन्छ भनेर हतारिनु पर्दैन’, उनले भनिन् ‘अँध्यारो हुन्छ भनेर चाडै खाना खाएर सुतिहाल्नु पनि पर्दैन । अब सबै काम बिस्तारै गर्न सकिन्छ ।’

स्कुलबाट ‘हाफ टाइम’मा ड्रेसमै कार्यक्रम स्थल आइपुगेका बालबालिका पनि घरमा बत्ती बल्ने भएपछि निकै खुशी भएका थिए । घरबाट स्कुल टाढा भएकाले त्यहाँको बालबालिकाको दिन स्कुल आउँजाउमा नै बित्ने गर्छ । साँझ घर आइपुगे पछि पनि घरको काम गर्नुपर्ने भएकाले उनीहरुले पढ्न पाउँदैनन् । राति बत्ती नभएपछि झन् पढ्न सक्ने कुरै भएन ।आर्थिकरुपमा सबल भएका केहिले घरमा सोलार जडान गरेको भएपनि गरिबीको मारमा परेका अधिकांश चेपाङ समुदाय वर्षौदेखि बत्तीविनाको अँध्यारोमा जीन्दगी चलाउँदै आएका छन् । अनिकाल र भोकमरीको कारण पेट भर्न जंगली कन्दमुलको भर पर्नुपर्ने त्यहाँका चेपाङ उज्यालो खोज्न पनि जंगल नै जाने गरेका थिए । जंगलमा पाइने सल्लाको सुकेको काठलाई दियालो बनाएर उनीहरु बत्ती बाल्ने गर्थे ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार गाउँपालिकामा नै अहिलेसम्म विद्युत प्राधिकरणमार्फत् बिजुली बत्ती पुगेको छैन । गाउँपालिकाको केहि स्थानमा यस्तै पेल्ट्रिक सेट सञ्चालन गरेर बत्ती बालिएको छ भने कतिपय स्थानका चेपाङ समुदाय अझैपनि अँध्यारोमा नै बस्नबाध्य छन् । अध्यक्ष मल्लले गाउँपालिका भरिमा करिब २० वटा पेन्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार सो पेल्ट्रिक सेटबाट केहि वडाका घरधुरीलाई बत्ती पुगेको भएपनि अझै केहि वडा अँध्यरोमा नै बस्न बाध्य छन् ।‘बत्ती नभएकोले यहाँका चेपाङ समुदायलाई धेरै समस्या थियो । त्यसैले अहिले केहि घरधुरीलाई हुनेगरि पेन्ट्रिक सेट सञ्चालनमा ल्याएका छौ’, उनले भने । पेल्ट्रिक सेटको उद्घाटन गाउँपालिकाका अध्यक्ष मल्लले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*