प्रदेश उच्च शिक्षा ऐन कार्यान्वयनमा
हेटौंडा-बागमती प्रदेशको प्रदेश उच्च शिक्षा ऐन, २०७८ कार्यान्वयन प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ जारी भएसँगै कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । संसदबाट पारित भएको ऐनलाई १४ चैतमा जारी गरेको प्रदेश सरकारले यसको कार्यान्वयन प्रक्रिया पनि अघि बढाएको छ । ऐन कार्यान्वयन प्रक्रियालाई अघि बढाउन ऐनमा व्यवस्था भएअनुसार प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकसमेत बसेको छ ।
प्रदेशका मुख्यमन्त्री तथा परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आइतबार पहिलो बैठक बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकले तत्काल प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई कार्यान्वयन गर्नको लागि परिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।प्रदेश उच्च शिक्षा नियमावली तर्जुमा गर्नका लागि विज्ञ सहितको कार्यदल निर्माण गरी प्रक्रिया अघि बढाउने, परिषद् सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढाउने र ऐनका प्रावधानबारे सरोकार संस्थासँग छलफल अघि बढाउने लगायतका निर्णय गरेको छ ।
कार्यालयको अनुसार परिषद्का काम कारबाही अघि बढाउनको लागि आवश्यक बजेटको श्रोतको व्यवस्था गर्नेसमेत निर्णय भएको छ । उक्त ऐनले मूलभूत रूपमा उत्कृष्ट राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वविद्यालयले प्रयोग गरेका शिक्षण प्रक्रिया, व्यवस्थापन र सञ्चालन पद्धतिलाई अनुसरण गर्दै नेपालमा उच्च शिक्षासम्बन्धी पृथक प्रयोग कार्यान्वयन गराउने उद्देश्य राखेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ऐनले मूलभूत रुपमा उत्कृष्ट राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वविद्यालयले प्रयोग गरेका शिक्षण प्रकृया, व्यवस्थापन र सञ्चालन पद्धतिलाई अनुशरण गर्ने प्रयत्न गर्दै नेपालमा उच्च शिक्षासम्बन्धी फरक प्रयोग कार्यान्वयन गराउने ध्येय राखेको छ ।यसअन्तर्गत् छुट्टै विधानद्वारा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना हुने विश्व विद्यालय र प्रतिष्ठान छुट्टाछुट्टै संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को ढाँचामा सञ्चालन हुने र विकृतिको रुपमा रहेको सम्बन्धन दिने परम्परा लाई निरुत्साहित गरिएको छ । उच्च शिक्षा परिषद्को व्यवस्था, सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र स्वायत्त प्रतिष्ठान स्थापना गर्न सक्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।







