१५ जना बालिकाको उजुरीः तीन शिक्षकले यौन दुव्र्यवहार गरे
हेटौंडा- जिल्लाको पूर्वीक्षेत्र बागमती गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयका तीन शिक्षकले बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । जनता माविको कक्षा ४, ५, ६, ७ र ८ मा पढ्ने १५ जना बालिकामाथि तीन जना शिक्षकले पटक–पटक यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको हो ।१५ जना बालबालिकाले चैत दोस्रो साता विद्यालयमा शिक्षकहरुबाट यौन दुव्र्यवहारमा परेको भन्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय फापरबारीले जानकारी दिएको छ । १५ जना बालिकाले उजुरी दिएपछि पुनः ६ जना अभिभावकले २० चैतमा उजुरी दिएका थिए । तीन जना शिक्षकहरु हेम विक, लोक विक र रुद्र विकले आफूमाथि गलत नियतले संवेदनशील अंगमा हातले बारम्बार छोएको बालिकाहरुले उजुरीमा उल्लेख गरेका छन् ।
यौन दुव्र्यवहारको घटना भएको र प्रहरीले अनुसन्धान गर्ने मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । उनले मंगलबार विद्यालयमा तोडफोड गर्ने स्थानीयको समूहलाई तितरबितर बनाएर विद्यालयको सुरक्षा दिएको उनको भनाइ छ ।बालिका र अभिभावकको उजुरीमाथि छलफल गर्न भन्दै राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पीडित बालिका र अभिभावकलाई मंगलबार विद्यालयमा जुटाइएको थियो । छलफलमा शिक्षकको संरक्षणमा विद्यालय नै लागेको र उनीहरुलाई भगाएको भन्दै स्थानीयले तोडफोड गरेका छन् । तोडफोडबाट विद्यालयको डिजिटल स्क्रीन, प्रोजेक्टर, बेञ्च, गमला, डस्टबिनहरु फुटेको जनाइएको छ ।
११ र १२ गते बालिकाहरुले छुट्टाछट्टै उजुरी दिएको र २० चैतमा अभिभावकले पुनः विद्यालयमै उजुरी दिएपछि विद्यालयमै छलफल गरिएको थियो । बालिकामाथिको यौन दुव्र्यवहारको घटना मिलाउन खोजिएको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए । इलाका प्रहरी कार्यालय फापरबारीका अनुसार हाल आरोपित तीनै जना शिक्षक विदामा छन् । उनीहरुलाई बालिकाको उजुरीपछि विद्यालयका प्रधानाध्यापक बसन्त राईंले एक हप्ताअघि तीन दिन निलम्बन गरेको र पछि उनीहरुले गाउँमा बेइज्जत हुने त्रासले विद्यालयमा विदा लिएर हिँडेको बताइएको छ ।
इप्रका फापरबारीका प्रमुख प्रहरी निरीक्षक कमलकुमार निगेलीले शिक्षकहरु हाल विदामा रहेको साझाकुरालाई जानकारी दिए । पीडित बालिकाहरुले कक्षाकोठामा पढाउने क्रममा शिक्षकहरुले संवेदनशील अंगमा हात लैजाने गरेको बालिकाहरुले आरोप लगाएको निगेलीले बताए ।
पीडित बालिकाहरु पटक–पटकको घटनाले त्रसित भएपछि विद्यालयका प्रअ राईसमक्ष मौखिक गुनासो गर्न पुगेका थिए । राईले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट खटिएको विद्यालय नर्सलाई परामर्शका लागि बालिकाहरु पठाएको प्रहरीले जनाएको छ ।विद्यालय नर्ससँग बालिकाहरुले घटनाबारे खुलेर कुरा गरेको प्रहरी निरीक्षक निगेलीले बताए । ‘प्रअ सरले बालिकालाई परामर्शका लागि विद्यालय नर्सकोमा पठाउनु भएको रहेछ । बालिकाहरुले नर्ससँग घटनाबारे खुलेर भनेछन्’ निगेलीले भने । घटनाबारे पूर्ण जानकारी लिएर बसेका प्रअ राईंले मिलापत्रमै टुंग्याउन खोजेको देखिएको छ । उनले बालिकामाथि गम्भीर घटना हुँदासमेत विद्यालय नजिकै रहेको इप्रका फापरबारीलाई जानकारी नगराएको पाइएको छ ।
बालिकाहरुले यौन दुव्र्यवहार जस्तो गम्भीर घटना बारे जानकारी गराउँदा पनि विद्यालयका प्रधानाध्यापक राईले घटना गुपचुप राख्न खोजेको पुष्टि भएको हो । विद्यालयले घटनाबारे प्रहरीलाई जानकारी नै नगराएको प्रहरी निरीक्षक निगेलीले बताएका छन् ।पीडित बालिका र अभिभावकहरुले पनि प्रहरीमा उजुरी दिएका थिएनन् । ‘उहाँहरु उजुरी लिएर विद्यालयमा पुग्नु भएको रहेछ । हामी कहाँ आउनु भएन । हामीलाई पनि पछि थाहा भएको हो । यसबारे विद्यालयले पनि हामीले कुनै जानकारी गराएको थिएन्’, निगेलीले भने । बागमती गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तानले घटनाबारे थाहा नभएको बताएकी छन् । ‘म बिहानैदेखि फिल्डमा छु ।’
मलाई विद्यालयमा तोडफोड भयो रे भन्ने सुन्न आएको छ । शिक्षकहरुले बालिकामाथि यौन दुव्र्यवहार गरेको कुरा भर्खरै थाहा पाउँदै छु । वास्तविक कुरा सोधपुछ पछि मात्रै थाहा हुन्छ’, स्याङ्तानले भनिन् । १० दिनअघिको घटना रहेको भन्दै उनले यतिका दिनसम्म गुपचुप हुनुमा आशंका व्यक्त गरिन् । उनले घटनामा राजनीति मिसिएको आशंका गर्दै सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिइन् ।
आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने इप्रका फापरबारीका प्रमुख निगेलीले बताएका छन् । बालिकाहरुले उजुरी नदिए पनि गम्भीर विषय भएकाले अनुसन्धान गर्ने र दोषी पाइए
कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ । पीडित बालिकाहरु आरोपित ३ शिक्षकबाट त्रासमा परेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाहरुले ती शिक्षकहरु पढाउन आए विद्यालय नजाने बताएका छन् । पूर्वी क्षेत्रको उत्कृष्ट विद्यालयको परिचय बनाएको जनता माविमा बालिकाहरु असुरक्षित रहेको घटनाले जिल्लाभर आलोचना भइरहेको छ । आरोपित शिक्षकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न बालअधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरुले आवाज उठाएका छन् । अनेरास्ववियू मकवानपुरले दोषिलाई कडा कारबाही गर्न माग गरेको छ ।







