विद्यालयमा यौन दुव्र्यवहार गरेको घटना गाउँमै मिलाउने प्रयास

साझाकुरा
२०७८ चैत्र २४, बिहीबार १०:२०

हेटौंडा- विद्यालयमा शिक्षकले बालिकाहरुमाथि गरेको यौन दुव्र्यवहारको घटना गाउँमा नै मिलाउने प्रयास गरेको पाइएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविमा शिक्षकले बालिकालाई दुव्र्यवहार गरेको घटना गाउँमा नै मिलाउने प्रयास गरेको पाइएको हो । विद्यालयको ३ जना शिक्षकले सोही विद्यालयमा अध्ययनरत् बालिकाहरुमाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले मंगलबार विद्यालयमा तोडफोड तथा तालाबन्दी समेत गरेका थिए ।

विद्यालयको कक्षा ४ देखि ८ सम्म अध्ययनरत् करिब ७५ जना छात्रालाई विद्यालयको ३ जना शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको बालिकाहरुको आरोप छ । उनीहरुले वर्षौदेखि शिक्षकहरुले आफूहरुलाई गलत नियतले संवेदनशील अंगमा छुने गरेको आरोप लगाएका छन् ।सोही विषयमा स्थलगत अध्ययन गर्न गएको मकवानपुरका मानव अधिकार तथा बालअधिकारसम्बन्धी संघसस्ंथाहरुका अनुसार उक्त घटनालाई गाउँमा नै मिलाउने प्रयास भएको पाइएको हो । गाउँका राजनीतिक दल, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले नै घटना गाउँमै मिलाउने प्रयास गरेको जनाएको छ । संघसंस्थाले घटनाको विषयमा प्रत्यक्षरुपमै घटनास्थलमै पुगेर पीडित विद्यार्थीसँग भेटघाटको क्रममा मेलमिलापको प्रयास भइरहेको पाइएको जनाएको छ ।

बुधबार घटनाको स्थलगत अवलोकन गरेर आएपछि ८ वटा संघसस्ंथाले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाबारे जानकारी गराएको थियो । ‘अहिलेसम्म उजुरी परेको छैन । सबै नाबालिका नै छन् । नाबालिकाको हकमा अभिभावकले उजुरी दिनुपर्ने हो । अभिभावकले यस विषयलाई खासै महत्व दिएको पाइँदैन’, माईती नेपाल हेटौंडाकी संयोजक माया लामाले भनिन् । उनले पीडितमाथि राजनीतिकरण हुने सम्भावना देखिएकोसमेत बताइन् । लामाका अनुसार उक्त घटनालाई पटकपटक गाउँमा नै मिलाउने प्रयास गर्दासमेत असफल भएको पाइएको बताइन् ।

कक्षा ४ देखि ८ सम्मका १५ जना विद्यार्थीले विद्यालयका शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकले आफूहरुलाई गलत नियतले छुने गरेको भन्दै बालिकाहरुले चैतको १४ गते नै विद्यालयमा लिखितरुपमा निवेदन दिएका थिए । यसअघि चैत २ गते नै उनीहरुले विद्यालयका प्रधानाध्यापक बसन्त राईलाई घटनाबारे मौखिक रुपमा जानकारी गराए पनि शिक्षक सेवा आयोगको परीक्षा भन्दै विद्यालय बन्द गराएको विद्यार्थीहरुको आरोप छ । मौखिकरुपमा गराएको जानकारीलाई विद्यालय प्रशासनले गम्भीररुपमा नलिएपछि चैतको १२ गते विद्यार्थीहरुले र २० गते अभिभावकले समेत विद्यालयमा उजुरी दिएका थिए । सोही विषयमा छलफल गर्न मंगलबार राजनीतिक दलसहित बसेको बैठकमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए ।

‘छात्रामाथि भएको यस किसिमको अमानवीय र जघन्य अपराध बिरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी पीडित बालिकाहरुको गोपनियता, आत्मसम्मान, मनोसामाजिक अवस्था र संवेदनशिलतालाई ध्यानमा राखेर दोषीलाई उन्मुक्ति नपाउने गरी हदैसम्मको कारबाहीका माग गर्दछौं’, मानव अधिकार संरक्षण तथा मानव बेचबिखनबिरुद्धको सञ्जालका संयोजक आरती पाठकले पत्रकार सम्मेलनमा भनिन् । सिविन हेल्पलाइन, सेलर्ड, राडो नेपाल, हिमराइट्स, शान्ति फाउण्डेसन, ग्रामीण महिला सेवा केन्द्र, सञ्चारिका समूह नारी सीप सिर्जना केन्द्र हेटौंका प्रतिनिधिहरु घटनाको विषयमा जानकारी लिन घटना स्थल पुगेका थिए । स्थलगत अवलोकन गरी हेटौंडा आएका संघसस्ंथाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अभिभावकहरुले नै घटनाबारे नबोल्न बालबालिकालाई दबाब दिएको आरोप लगाएको छ ।

‘स्थानीय सरोकारवालाको धारणा बुझ्दा यस समस्यालाई समाधानको निम्ति स्थानीयस्तरमै मेलमिलापको प्रयास गर्न खोजिनु र अभिभावकले आफ्नै बालबालिकालाई नबोल्न दबाब दिएको प्रत्यक्ष देखिएकोले यो उजुरी दर्ता हुने वा नहुने र दर्ता भएपनि पीडित बालिकाले बयान फर्ने वा नफेर्ने कुरामा शंका नै रहेको हुँदा हामी सबै सरोकारवालाहरु यस प्रति सचेत रहन आग्रह गर्दछौ’, विज्ञप्तिमा भनिएको छ ।मकवानपुर प्रहरीले विद्यालयमा शिक्षकले छात्रामाथि यौन दुव्र्यवहारको घटनामा संलग्न शिक्षकलाई तत्काल पक्राउ गर्न नसकिने जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले घटनाको विषयमा पीडित पक्षबाट लिखितरुपमा उजुरी नआएका कारण पक्राउ गर्न नसकिएको जनाएका हुन् । ‘उजुरी विना पक्राउ गर्न मिल्दैन । लिखित आएपछि अनुसन्धानका लागि हामीले नियन्त्रणमा लिन सक्छौं’, उनले भने । प्रहरी उपरीक्षक गुरुङका अनुसार विद्यालयको सुरक्षा प्रहरीले गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*