वडाको उम्मेदबार धमाधम टुङ्ग्याउँदै एमाले

साझाकुरा
२०७८ चैत्र २४, बिहीबार १०:२६

हेटौंडा- आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धमाधम उम्मेदबारको टुंगो लगाउन थालेको छ । एमालेले सुरुवातमा स्थानीय तहको वडाध्यक्ष र सदस्य उम्मेदवारहरुको टुंगो लगाउन थालेको हो । एमालेले आज बिहिबारसम्म जिल्लाको १०२ वटै वडाको उम्मेदवार टुंगो लगाउने गरी काम गरिरहेको नेकपा एमाले मकवानपुरका सचिव नविन सिग्देलले जानकारी दिए ।

उनका अनुसार पार्टीले बुधबार केहि वडाका उम्मेदवारहरुको टुंगो लगाएको छ । उनले बुधबार जिल्लाको १० वटा पालिकामध्ये कतिवटा वडाको उम्मेदवारहरुको टुंगो लाग्यो भन्ने तथ्याड्ढ आइनसकेको बताए । उनका अनुसार हेटौंडाको ४ र ५, थाहा नगरपालिकाको र मकवानपुरगढी गाउँपालिकाको उम्मेदवार भने विवरण आइसकेको बताए ।बुधबार साँझसम्म प्राप्त विवरण अनुसार एमालेबाट हेटौंडा–५ को वडाध्यक्षमा सुशील घिमिरे र ४ नम्बर वडामा पार्टी सचिव सिग्देल उम्मेदवार बन्ने पक्का भएको छ । सिग्देल ४ नम्वर वडाको वर्तमान वडाध्यक्ष हुन् । २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित भएका उनी आगामी निर्वाचनमा पुनः उम्मेदबार बन्ने भएका छन् । उनीहरु दुबैलाई पार्टीले सर्वसम्मत्रुपमा उम्मेदबार चयन गरेको जनाइएको छ ।

त्यसैगरी, थाहा नगरपालिका वडा नम्वर १ मा एमालेको तर्फबाट वडाध्यक्षसहित चार जना वडा सदस्यका उम्मेद्वारहरु सर्वसम्मत चयन भएका छन् । नेकपा एमाले मकवानपुरका सदस्य सुरेन्द्रमान प्रधानले दिएको जानकारी अनुसार थाहा नगरपालिकाको १ नम्वर वडाध्यक्षमा प्रदीप प्रधानलाई उम्मेदवार बनाउने निर्णय भएको छ । वडा सदस्यहरुमा श्याम बलामी(खुल्ला) भरत गोपाली(खुल्ला) शान्ति तामाङ (महिला) तथा सुकुमाया ल्वागुन(दलित) सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ को वडाध्यक्षमा सन्तबहादुर सिंगारलाई एमालेले उम्मेदवार बनाउने भएको छ । त्यसैगरी, वडा सदस्यहरु खुल्ला तर्फ मंगलसिंह लुङ्वा र धु्रब देवकोटा, महिलातर्फ अनिता थापामगर तथा दलित महिला सदस्यमा निर्मला विक उम्मेदवार बन्ने पक्का भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*