मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सर्दैनः स्वास्थ्यमन्त्री लामा
हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सार्न नखोजिएको बताएका छन् । मकवानपुरका राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुसंग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत भएको बताएका हुन् । उनले प्रतिष्ठानलाई सार्न खोजेको भन्ने कुरा भ्रममात्रै भएको बताउँदै हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरे ।
हेटौंडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन सकिने अवस्था नभएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्रै लिइएको बताउँदै उनले स्नातक तहका ३ विषयको कक्षाहरु हेटौंडामा नै संचालन भइरहेको स्पष्ट पारे । प्रतिष्ठान बागमती प्रदेशको गौरब भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र संघीय सरकारबाट संरचनाका लागि ९५ करोड रुपियाँ बजेट उपलब्ध भएकोले हेटौंडामा पूर्वाधार विकास गर्न लागिएको बताए । उनले अघिल्लो सरकारले जग्गासमेत प्राप्ति नगर्दा काम अघि बढाउन समस्या भएकाले यसको यथाशीघ्र समाधान गरिने बताए ।
हेटौंडा अस्पताललाई बागमती प्रदेशकै नमूना अस्पताल बनाउन प्रदेश सरकारले विगतमा पनि बजेट उपलब्ध गराएको र अहिले पनि उपकरण र जनशक्ति थप गर्नेतर्फ काम भइरहेकोले अस्पतालको सेवा झन प्रभावकारी बनाइने बताए ।उनले अफवाह र भ्रममा नपर्न र प्रतिष्ठान र अस्पताललाई थप प्रभावकारी र व्यवस्थित गर्न राजनैतिक दलहरुको समेत बुझाव आवश्यक रहेकाले उपलव्ध गराउन आग्रह गरे । प्रतिष्ठानको ऐनले पुरानो सामाजिक विकास मन्त्रालयको परिकल्पना गरेको लगायतका विषयमा सुधार गर्नुपर्ने भएकाले पनि अध्यादेश आवश्यक भएको बताए । सरोकारवालाहरुको माग अनुसार हेटौंडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उनको भनाइ छ ।
प्रतिष्ठान अहिलेकै अवस्थामा भने चल्न नसक्ने भएकाले यसलाई प्रभावकारी ढंगबाट अघि बढाउन प्रतिष्ठानसम्बन्धी अध्यादेश ल्याएको बताउँदै मन्त्री लामाले प्रतिष्ठान स्थापनाकालदेखि ३ वर्षसम्ममा देखिएका समस्यालाई पनि अहिले समाधानको काम भइरहेको बताए ।छलफलमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, प्रदेश सदस्य चम्फुरत्न लामा, माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिन, राप्रपा नेपाल मकवानपुरका गुरूप्रसाद सापकोटा, मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायतको उपस्थिति थियो ।







