चुनावको तयारी तिव्र, १९ मतदानस्थल अतिसंवेदनशील

साझाकुरा
२०७८ चैत्र २९, मंगलवार ११:२९

हेटौंडा- मकवानपुरमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारी तीव्र पारिएको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा चुनावको तयारीलाई तीव्रता दिइएको हो । स्थानीय तह निर्वाचनको एकीकृत सुरक्षा रणनीति समेत तयार भएको छ । सोहीअनुसार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा धमाधम मतदान स्थलको निरीक्षणसमेत सुरु गरिएको छ । जिल्लाभित्र १० वटा स्थानीय तहमा एकसय ६५ वटा मतदानस्थल र तीनसय ५६ वटा मतदान केन्द्रहरू कायम गरिएको छ ।

जसमध्ये मकवानपुरका १९ वटा मतदान स्थल अतिसंवेदनशील रहेको पाइएको छ । सुरक्षाका दृष्टिकोणले १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा सामान्य रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका निम्ति गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा मकवानपुर जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको प्रजिअ पाण्डेले जानकारी दिए ।

विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशतभन्दा बढी मतदान स्थल तथा मतदान केन्द्रहरूको निरीक्षण प्रजिअ पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट भइसकेको र बाँकी मतदानस्थल तथा मतदानकेन्द्रहरूको निरीक्षण भइरहेको जनाइएको छ ।स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू मिति २०७८ साल चैत्र मसान्तसम्म नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीहरूको लागि मिति २०७८ साल चैत ११ मा सूचनासमेत प्रकाशन गरी हातहतियार बुझ्ने कार्य भइरहेको उनले बताए ।
जिल्लामा एकहजार चार सय ७३ जना म्यादी प्रहरी छनौट गरी आजबाट जिल्ला प्रहरी कार्यालय, मकवानपुरद्वारा तालिम प्रदान गर्ने कार्य प्रारम्भ गरिएको छ ।

यसका साथै स्थानीय तहको निर्वाचनका समयमा जिल्लाभित्रका विभिन्न मतदान स्थल र मतदान केन्द्रहरूमा खटिने कर्मचारीहरूको विवरण तयारीको कार्यसमेत भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट मतदान स्थल र मतदान केन्द्रहरूको निरीक्षणसमेत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*