बोर्डका उपाध्यक्षलाई पदमै रहेर काम गर्न आदेश

साझाकुरा
२०७८ चैत्र ३०, बुधबार १२:५१

हेटौंडा- बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत्को प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्षलाई पदमै रहेर काम गर्न अदालतले अल्पकालीन आदेश दिएको छ । उच्च अदालत पाटन, हेटौंडा इजलाशले मंगलबार बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटालाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश गरेको हो । सापकोटाले मन्त्रालयले दुई पटक स्पष्टिकरण सोधेर पदबाट हटाएको थियो ।

गठबन्धन सरकारले तत्कालीन एमाले सरकारबाट नियुक्ति पाएकालाई हटाउँदै आफ्नालाई नियुक्त गर्ने प्रक्रिया कार्यान्वयन गरिरहेको छ । सोहीअनुसार मन्त्रालयले सापकोटालाई केही दिनअघि उपाध्यक्षबाट हटाएको थियो ।सापकोटाले राजनीतिक प्रतिशोधका कारण सरकारले आफूलाई हटाएको भन्दै सोमबार अदालतमा निवेदन दायर गरेका थिए । मंगलबार सापकोटाको पक्षमा अधिवक्ता बालकृष्ण अधिकारी र ध्रुवप्रसाद चौलागाईंले गरेको बहस सुनेपछि न्यायाधीश चण्डिराज ढकालको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।

अधिवक्ता अधिकारीका अनुसार दुबै पक्षलाई अदालतले १२ वैशाखमा छलफलका लागि बोलाएको छ ।अदालतले बोर्डमा अर्का उपाध्यक्ष नियुक्तिको प्रक्रिया पनि तत्कालका लागि रोक्न आदेश दिएको अधिकारीले जानकारी दिए । मन्त्रालयले सापकोटालाई पदमुक्त गरेपछि खुल्ला प्रतिस्पर्धाबाट अर्का उपाध्यक्ष नियुक्तिको तयारी पनि अघि बढाएको थियो । प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको ऐनको दफा १० (२) बमोजिम मन्त्रालयबाट गठन भएको छनौट समितिले २७ असोज २०७७ मा सिफारिस गरेका तीन जनामध्येबाट सापकोटालाई नियुक्त गरेको
थियो । सापकोटाको कार्यकाल चार वर्षको हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*