खाजा पाएपछि चेपाङ विद्यार्थीको खुसी
खाजा पाएपछि खुशीः मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ सिमलटारस्थित श्रीप्राथमिक विद्यालयमा दिवा खाजा खाँदै चेपाङ बालबालिका । विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि विद्यालय जाने विद्यार्थीको संख्या उलेख्य बढेको छ । विगतमा राक्सिराङका चेपाङ बालबालिका विद्यालय जाँदैन थिए । विद्यालयकी प्रधानाध्यापक मिठु लामिछानेका अनुसार एकवर्ष अघिसम्म विद्यालय आउन बालबालिकालाई घर–घरमा बोलाउन जानु पर्ने बाध्यता थियो । दिवा खाजाको व्यवस्था भएपछि भने विद्यालय आउने विद्यार्थीको संख्या ६९ पुगेको प्रअ लामिछानेले बताए । प्रत्येक दिन एक जनालाई १५ रूपैयाँ बराबरको खाजा विद्यालयमा नै बनाएर खुवाउने गरेको जनाइएको छ ।
तर, ५ कक्षासम्म मात्रै सरकारले खाजाको व्यवस्था गरेको हुनाले ५ कक्षाभन्दा माथिका कक्षामा न्यून विद्यार्थी मात्र हुने गरेका छन् । प्रअ लामिछानेका अनुसार भोकमरी र गरिबीको चपेटामा पर्ने राक्सिराङका चेपाङ बालबालिका एक छाक खानैका लागि भएपनि विद्यालय धाउन थालेका हुन् । वर्षको ६ महिना खाद्य संकट हुने राक्सिराबासीका चेपाङलाई अहिलेपनि दिनमा दुई छाक पेट भर्न हम्मेहम्मे पर्ने गर्छ । चेपाङहरु जंगलमा गिठ्ठाभ्याकुर खाएर छाक टार्ने गर्थे । – तस्बिरः श्रीजना नेपाल÷साझाकुरा ।







