सञ्चारिकालाई महासंघद्वारा सेनेटरी प्याड हस्तान्तरण
हेटौंडा-नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चारिका समूह मकवानपुरलाई सेनेटरी प्याड हस्तान्तरण गरेको छ ।सञ्चारिका समूह मकवानपुरले पत्रकार महिलाहरूको लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउंदै आएकोमा महासंघले यसको अभिभावकत्व ग्रहण गर्दै आवश्यक प्याड हस्तान्तरण गरेको हो । समूहले गत ८ मार्च (महिला दिवसको दिन) बाट निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउंदै आएकोमा आगामी दिनमा प्याडको उपलब्धताको जिम्मेबारी पत्रकार महासंघ जिल्ला शाखाले लिएको छ । पत्रकार माहिलाको लागि चाहिए जति सेनेटरी प्याडको व्यवस्थापन गर्ने जिम्मेबारी महासंघले लिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए । उनले वितरणको पाटो सञ्चारिकाले नै गर्नेसमेत बताए ।
सेनेटरी प्याड सञ्चारिका समूह जिल्ला शाखालाई हस्तान्तरण कार्यक्रम अध्यक्ष गौतमले महासंघ पत्रकार महिलाको स्वास्थ्यप्रति सचेत र साथसाथ रहेको बताए । सेनेटरी प्याड वितरण कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्काले मानवीय संवेदनाको विषय भएकाले सञ्चारगृहहरुमा अनिवार्य सेनेटरी प्याड तथा प्राथमिक उपचारका सामग्री राखिनुपर्ने बताए । कार्यक्रम पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पूर्वअध्यक्ष प्रताप बिष्ट, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल लगायतले आर्थिकरूपमा सेनिटरी प्याड खरिदको बिषय सामान्य भए पनि यो कार्यले महिलाको स्वास्थ्य संवेदनशिलतामा पुरूषहरू पनिसंगै छौं भन्ने दर्शाउने बताए ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष गौतमको सभाध्यक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष गौतमले महिला पत्रकारहरुका लागि सुत्केरी भत्तालाई, फिचर लेखन तथा भिडियो सम्पादन तालिम माग रहेकाले यस्तो कार्यक्रम गर्ने जमर्को जारी रहेको बताए ।कार्यक्रममा मकवानपुरका सञ्चारकर्मीहरू, सञ्चारिका समूह मकवानपुरका अध्यक्ष सम्झना रिजाल सहित जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरू, बिभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदनप्रदान समेत गरिएको थियो ।







